देवेन्द्र घिमिरेदेखि एकराज चापागाईंसम्मको स्वरमा ‘नजरैको तिर सानु’ सार्वजनिक

-


     केपी कुमार जलन     
     श्रावण २८ गते २०८३ मा प्रकाशित


काठमाडौं, साउन २८ – म्याग्देली कलाकारहरूलाई एउटै सिर्जनामा जोड्दै तयार पारिएको तीज गीत ‘नजरैको तिर सानु’ सार्वजनिक गरिएको छ। अञ्जली जीसीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले म्याग्देली कलाकारहरूको सामूहिक सहकार्य, एकता र सांगीतिक भावनालाई उजागर गरेको छ।

गीतमा देवेन्द्र घिमिरे, शान्ता बरदवा, करण कँडेल, खिमा पुन मगर, विजय छिनाल, निशा भण्डारी, धुर्बा जीसी, दुर्गा रोक्का, शंकर पोखरेल र एकराज चापागाईंलगायत कलाकारहरूको स्वर रहेको छ। गीतमा दीपक अधिकारीको शब्द, शिव हमालको संगीत तथा महेन्द्र भण्डारीको संगीत संयोजन रहेको छ। भिडियोको निर्देशन सुनिल बानियाँले गरेका हुन्।

‘नजरैको तिर सानु’को भिडियो म्याग्दीका रमणीय तथा पर्यटकीय स्थल बगरफाँट, लभ्ली हिल, चुगेनी र बौर बगरफाँटलगायत स्थानमा छायांकन गरिएको छ। स्थानीय कला, संस्कृति र प्राकृतिक सुन्दरतासँगै म्याग्देली कलाकारहरूको सामूहिक उपस्थितिले भिडियोलाई थप आकर्षक बनाएको छ।

अग्रजदेखि नयाँ पुस्तासम्मका कलाकारलाई एउटै सिर्जनामा समेटिएको यस गीतले तीजको सांगीतिक माहोललाई जीवन्त बनाउनुका साथै ‘म्याग्देली कलाकार एकताका लागि एक ठाउँमा’ भन्ने सकारात्मक सन्देश पनि प्रवाह गरेको छ। गीत सार्वजनिक भएसँगै दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया आउन थालेको छ।

गीत अञ्जली जीसीको युट्युब च्यानलमार्फत हेर्न तथा सुन्न सकिनेछ। निर्माण टिमले गीत हेरेर माया, साथ तथा सुझाव दिन सम्पूर्ण दर्शक–श्रोतामाझ आग्रह गरेको छ।