
काठमाडौं साउन २८
काठमाडौंमा रगत अभावका कारण उपचाररत बिरामीले भोग्नुपरेको समस्या न्यूनीकरण गर्ने उद्देश्यले लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालले बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ। साउथवेस्टर्न स्टेट कलेजसँगको सहकार्यमा आयोजित कार्यक्रममा ठूलो संख्यामा रक्तदाता सहभागी भएका छन्।

रगत अभावका कारण अस्पतालमा उपचाररत बिरामीले आवश्यक समयमा रगत नपाउने समस्या नेपालमा अझै चुनौतीकै रूपमा रहेको छ। यही अवस्थालाई मध्यनजर गर्दै लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल र साउथवेस्टर्न स्टेट कलेजको हेल्थ एन्ड इन्भाइरोन्मेन्ट क्लबको संयुक्त आयोजनामा काठमाडौंको बसुन्धरास्थित साउथवेस्टर्न स्टेट कलेज परिसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो।

“टु–क्लस्टर कोलाबोरेटिभ मेगा ब्लड डोनेसन प्रोग्राम” नाम दिइएको उक्त कार्यक्रम कान्तिपुर ब्लड बैंकको प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो। कार्यक्रममा नागरिक, युवा, विद्यार्थी, समाजसेवी तथा लायन्सकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका डिस्ट्रिक गभर्नर रमेश अधिकारीले लायन्सहरू सर्भिसमा रमाउने गर्छाैं जहाँ आवश्यकता त्यहाँ लायन्स रक्तदान कार्यक्रम पनि सर्भिस मै पर्ने यसको मुख्य उद्देश्य बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन सहयोग गर्नु रहेको बताए। उनले रक्तदानलाई मानवीय सेवाको उत्कृष्ट उदाहरणका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रमका संयोजक तथा डिस्ट्रिक्ट ब्लड डोनेसन कलस्टर चिफ सुवर्ण कडेलले रगतको अभावले कुनै विरामीकाे मृत्यु हुन नपराेस सबैलाई रगत पुगाेस भन्ने उदेश्यले बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको । उनले रक्तदानलाई नियमित सामाजिक अभियानका रूपमा अघि बढाउन आवश्यक रहेको बताए ।

रक्तदान जीवन दान भन्ने नारालाई सार्थक बनाउन लायन्स क्लबले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रम भाग लिन पाउँदा खुशी लागेको रगतको अभावले कुनै पनि बिरामीको मृत्यु हुन नपराेस भनेर
रक्तदान गरेको लायन्स क्लबका सदस्यहरू बताउँछन् ।

“दुई क्लस्टर, एउटै लक्ष्य– थप जीवन बचाऔँ” भन्ने नारासहित आयोजित कार्यक्रममा २०० जना रक्तदाताहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। आयोजकले नियमित रक्तदानको संस्कार विकास गर्न र मानवीय सेवामा सबैलाई जोडिन आह्वान समेत गरेको छ।

रक्तदानमार्फत मानव जीवन बचाउन सकिने सन्देशसहित आयोजित यस कार्यक्रमले युवापुस्ता र समुदायलाई सामाजिक उत्तरदायित्वप्रति थप सचेत बनाउने विश्वास आयोजकले लिएका छन्।

लायन्स क्लब लगायतका संघ संस्थाले आयोजना गर्ने रक्तदान कार्यक्रम कै कारण राजधानीका सरकारी तथा निजी अस्पतालमा उपचार्थ बिरामीहरूले सहजरूपमा रगत पाउने गरेकाछन् ।अस्पताल उपचार्थ आउने विरामीलाइ रगत अभाव हुन नदिन लायन्स इन्टरनेशनलले काठमाडौंमा रक्तसञ्चार केन्द्र समेत स्थापना गरेर सेवा शुरूवात गरिसकेको छ ।























