
बागलुङ, साउन २७
बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा माझकटेरामा चक्कु प्रहारबाट एक जनाको हत्या भएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार ढोरपाटन नगरपालिका–५ निवासी २५ वर्षीय अर्जुन घर्तीले ढोरपाटन नगरपालिका–७ निवासी करिब ४० वर्षीय अशोक खत्रीमाथि धारिलो हतियार (चक्कु) प्रहार गरेका थिए। घटनामा गम्भीर घाइते भएका खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
मंगलबार राति करिब ९ः४० बजे भएको घटनापछि स्थानीयवासीले आरोपित घर्तीलाई नियन्त्रणमा लिएका थिए। घटनाबारे राति १०ः१० बजे प्रहरी चौकी धम्जा बिहुमा जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक रमेश चौधरीको नेतृत्वमा टोली घटनास्थलतर्फ खटिएको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी निरीक्षक चिरञ्जिवी अधिकारीको नेतृत्वमा अपराध अनुसन्धान टोली (SOCO) सहित थप प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा दुवै व्यक्ति करिब ६–७ दिनअघि उक्त क्षेत्रमा आएर निर्मल आधारभूत विद्यालयको पुरानो भवनमा बस्दै स्थानीय स्तरमा ज्याला मजदुरी गर्दै आएको खुलेको छ।
हत्या हुनुको कारण भने हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
यो घटनाको स्केज फाेटाे एआइ









