
काभ्रे, साउन २६ ।‘Leading With Purpose’ अर्थात् उद्देश्यसहित नेतृत्व र ‘जहाँ आवश्यकता, त्यहाँ लायन’ भन्ने अभियानलाई आत्मसात् गर्दै लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गतका लायन्स क्लबहरूले सामाजिक तथा शैक्षिक सेवाका गतिविधिलाई तीव्रता दिएका छन्।

यसै क्रममा काभ्रेको पनौती नगरपालिका–५, सुब्बागाउँस्थित ग्रामोदय आधारभूत विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरणसँगै छात्रवृत्ति प्रदान गरिएको छ। कार्यक्रममा विद्यालयका करिब १०० जना बालबालिकालाई स्टेसनरी सामग्री, जुस, खेलकुदका सामग्री तथा खेलौनाहरू वितरण गरिएको हो।

त्यसैगरी विद्यालयका १५ जना विद्यार्थीलाई श्रावणदेखि आगामी वैशाखसम्म ६ महिनाका लागि छात्रवृत्ति प्रदान गर्न सहयोग गरिएको छ। विद्यार्थीको शैक्षिक निरन्तरता र विद्यालयप्रतिको आकर्षण बढाउन सहयोग पुग्ने उद्देश्यले उक्त सहयोग गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर (१st VDG) विष्णुहरि फुयाल, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर (२nd VDG) हसनकुमार गोपाली तथा ‘मिसन १.५’ प्रमुख महाप्रसाद पाण्डेको सहभागिता रहेको थियो। उनीहरूले डिस्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारीको प्रतिनिधित्व गर्दै कार्यक्रममा सहभागिता जनाएका थिए।

विद्यालयका प्रधानाध्यापक, पनौती नगरपालिका–५ का वडा अध्यक्ष, शिक्षक–शिक्षिका तथा लायन्स क्लबका पदाधिकारी र सदस्यहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

सक्रिय जोन चेयरपर्सन रञ्जु थापाको संयोजनमा लायन्स क्लब अफ काठमाडौं आबद्धकी अध्यक्ष कृष्णा मुलेपटी बजिमय, प्रथम उपाध्यक्ष सबिता श्रेष्ठ, सचिव रोशनी मुल्मी, सिनियर एओजी राज्यश्री श्रेष्ठ, डिपार्टमेन्ट चिफ अनिता, सदस्य रिंकु खेतान, नितु घले तथा सल्लाहकार बी.आर. शर्मालगायतको सहभागिता रहेको थियो।

कार्यक्रमका लागि जोन चेयरपर्सन रञ्जु थापा तथा उहाँका परिवारसहित सहयोगी मन भएका विभिन्न व्यक्तिहरूले योगदान गरेका थिए।
कार्यक्रममा सहभागी लायन्स प्रतिनिधिहरूले सामाजिक सेवा, शिक्षा, स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा निरन्तर सक्रिय रहनुपर्नेमा जोड दिएका थिए। आवश्यकता भएका समुदाय र विद्यार्थीको पहिचान गरी उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनीहरूको भनाइ थियो।

लायन्स अभियानले ‘सेवा नै धर्म हो’ भन्ने भावनालाई व्यवहारमा उतार्दै समुदायमा आवश्यकताअनुसार सहयोग पुर्याउँदै आएको छ। समय र व्यस्ततालाई भन्दा सेवाभावलाई प्राथमिकता दिएर गरिने यस्ता गतिविधिले विद्यार्थी तथा समुदायमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपालका एक्जुकेटिभ चिफ सुनिता मर्हठ्ठा शर्माले बताए ।











