बरेङ गाउँपालिकामा कृष्ण र प्रदीप बिच प्रतिस्पर्धा

-


     हिडन खबर    
     वैशाख २७ गते २०७९ मा प्रकाशित


बागलुङ ।बागलुङ जिल्लाकाे दक्षिण बरेङ गाउँपालिकाकाे निर्वाचनमा गठबन्धन दलबाट राष्ट्रिय जनमाेर्चाका कृष्ण प्रसाद शर्मा र एमालेका प्रदीपकुमार थापा बिच चुनावी प्रतिस्पर्धा हुने देखिएकाे छ ।

राष्ट्रिय राजनीति रूपमा नेपाल कम्युनिस्ट पार्टी मसालकाे बर्चस्व मानिने बरेङ गाउँपालिकामा यसपटकको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमाेर्चाले यसपटक पनि गठबन्धनकाे तर्फबाट तत्कालीन अध्यक्ष कृष्ण प्रसाद शर्मालाई चुनावी मैदानमा खडा गरेको छ भने एमालेले प्रदीपकुमार थापालाई खडा गरेको छ ।

यस्तै गाउँपालिकाकाे उपाध्यक्षमा गठबन्धन दलबाट नेपाली कांग्रेसका दिलीपकुमार पुन र एमालेका दुर्गा कार्की चुनावी मैदानमा उत्रिएका छन् ।

गठबन्धनले पाँच दलीय गठबन्धन युवा भेला गरी ५ वटै वडामा युवाहरु परिचालन गरी मतदाताहरुलाई घरदैलोमा गई उम्मेदवार र चुनाव चिन्हको बारे जानकारी गराएकाे छ ।यस्तै एमालेले बरेङमा घर दैलाे अभियान सबै सकेर आफ्नो पक्षमा मतदान गर्न अपिल गरेको छ । बरेङ गाउँपालिका राजमाेकाे उर्वर क्षेत्र भएको कारणले पनि निर्वाचनमा सजिलोसँग जित हासिल गर्ने राजमाेकाे दाबी भएपनि चुनावमा एमालेका केन्द्रीय नेता लिला थापाका छाेराले उमेदवारी दिएको कारणले पनि यसपटकको निर्वाचनमा प्रतिस्पर्धा राम्रो हुने अनुमान गरिएको छ ।

१० हजार ६ सय १९ जना मतदाता रहेको ५ वटा वडा रहेको बरेङ गाउँपालिकामा ५ वटा मतदान स्थल र १२ वटा मतदान केन्द्र यसपटकको निर्वाचनमा निर्धारण गरिएको छ ।

संघीयताको विपक्षमा रहेको राजमाे यसपटक संयुक्त गठबन्धन बाट निर्वाचनमा हाेमिएका छन् । राजमाेका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीको गृह जिल्ला भएको कारणले पनि यसपटकको स्थानीय तहको बागलुङ जिल्लाकाे निर्वाचन लाई सबैले चासो दिएर हेरेका छन् ।