तीजभित्र लुकेको परदेशीको आँसु, ‘परदेशीको पीडा’ सार्वजनिक हुँदै

-


     केपी कुमार जलन    
     श्रावण २५ गते २०८३ मा प्रकाशित


काठमाडौं । तीज नजिकिँदै जाँदा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ गीत सार्वजनिक हुने क्रम तीव्र बनेको छ। यही क्रममा तीजको मौलिक भावना र परदेशी जीवनको यथार्थ पीडा समेटिएको नयाँ गीत ‘परदेशीको पीडा’ सार्वजनिक हुने तयारीमा रहेको छ।

तीज भन्नासाथ माइतीघर, चेलीबेटी, भेटघाट र उल्लासपूर्ण क्षणहरूको सम्झना आउने गर्छ। तर रोजगारी, अध्ययन तथा अन्य कारणले विदेशिएका नेपालीका लागि तीज परिवार, गाउँघर र मातृभूमिको सम्झनासँगै भावनात्मक पीडा बोकेर आउने पर्व पनि बन्ने गरेको छ। यही यथार्थलाई गीतमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको छ।

गीतले परदेशमा रहेका नेपालीहरूको संघर्ष, परिवारप्रतिको माया र तीजको समयमा गाउँघरको सम्झनाले सिर्जना गर्ने भावनात्मक अनुभूतिलाई उजागर गरेको छ। यस कारण ‘परदेशीको पीडा’ केवल मनोरञ्जनमा सीमित नभई परदेशिएका नेपालीको मन छुने गीत बन्ने अपेक्षा गरिएको छ।

गीतमा रामजी पौडेल र पार्वती जीसीको स्वर रहेको छ। रामजी पौडेलकै संगीत रहेको गीतमा वीरेन्द्र पौडेलको शब्द तथा तारानाथ आचार्यको संगीत संयोजन रहेको छ। गीतको रेकर्डिङ तथा निर्माण कार्य पोखरास्थित डिजिटल स्टार स्टुडियोमा सम्पन्न गरिएको हो।

‘परदेशीको पीडा’ रामजी पौडेलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिने तयारी गरिएको छ। पोस्टर सार्वजनिक भएसँगै गीतप्रति दर्शक तथा श्रोताको चासो बढ्दै गएको छ।

विशेषगरी विदेशमा रहेका नेपाली तथा तीजका बेला माइतीघर र परिवारको सम्झनामा भावुक हुने चेलीबेटीको भावना गीतसँग जोडिने निर्माण पक्षको विश्वास छ। तीजको उत्सवमय वातावरणबीच परदेशी नेपालीको मनमा लुकेको कथा गीतले कति प्रभावकारी रूपमा प्रस्तुत गर्छ भन्ने कुरा सार्वजनिक भएपछि थप स्पष्ट हुनेछ।