बागलुङमा ३०५.३८ क्युफिट अवैध काठसहित ट्र्याक्टर नियन्त्रणमा

-


     हिडन खबर    
     श्रावण २४ गते २०८३ मा प्रकाशित


बागलुङ, साउन २४

बागलुङको काठेखोला गाउँपालिकामा अवैध रूपमा काठ ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ट्र्याक्टरसहित काठ नियन्त्रणमा लिएको छ।

काठेखोला गाउँपालिका–५, लेखेगौरियास्थित सामुदायिक वनबाट अवैध रूपमा कटान गरी काठ ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले ट्र्याक्टर नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार साउन २२ गते दिउँसो करिब ३ बजे प्रहरी टोलीले गस्ती गर्ने क्रममा ग १ त ७४६३ नम्बरको ट्र्याक्टरमा लोड गरी ओसारपसार भइरहेको गोल्सल्लाको काठ फेला पारेको थियो।

प्रहरीले ट्र्याक्टरमा लोड गरिएको काठसहित अवैध रूपमा कटान गरी राखिएको गोल्सल्लाका पाँच थान गोलिया काठ गरी जम्मा ३०५.३८ क्युफिट काठ बरामद गरेको जनाएको छ।

बरामद काठ, ट्र्याक्टर तथा काठ ओसारपसारमा संलग्न व्यक्तिहरूलाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय बागलुङमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।