
काठमाडौं, साउन २४
विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सामाजिक तथा मानवीय सेवा संस्था लायन्स क्लब इन्टरनेशनल अन्तर्गतको डिस्ट्रिक ३२५ के नेपालले लायन वर्ष २०२६–२०२७ को डिस्ट्रिक्ट क्याबिनेट अफिसर्स इन्स्टलेसन तथा प्रथम नियमित डिस्ट्रिक्ट क्याबिनेट बैठक सम्पन्न गरेको छ।

काठमाडौंस्थित महेन्द्र पुलिस क्लबमा आयोजित कार्यक्रममा करिब १ हजार २५० जना लायन्स सदस्यको सहभागिता रहेको थियो। कार्यक्रमलाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन हलको क्षमता तथा व्यवस्थापन पक्षलाई ध्यानमा राखेर पूर्वदर्ता प्रक्रिया समयमै बन्द गरिएको आयोजकले जनाएको छ।

बैठकमा डिस्ट्रिक्टको वार्षिक कार्ययोजना, सदस्यता विस्तार, सेवा गतिविधि तथा संगठन सुदृढीकरणका विषयमा व्यापक छलफल गरिएको थियो। डिस्ट्रिक्टले लायन वर्ष २०२६–२०२७ मा ३१ वटा नयाँ क्लब स्थापना गर्ने लक्ष्यसहित उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ। डिस्ट्रिक्ट गभर्नर रमेश अधिकारीको नेतृत्वमा हालसम्म थप १० वटा नयाँ क्लब स्थापना भएसँगै नयाँ क्लबको संख्या ४१ पुगेको अहिलेसम्म ३७ वटा क्लब बिधिवत रूपमा डिस्ट्रिकमा आबद्ध भइसकेकाे छ ।

सामाजिक तथा मानवीय सेवाका गतिविधिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सञ्चारमाध्यमले खेलेको भूमिकाको कदर गर्दै पत्रकार राजेशचन्द्र राजभण्डारीलाई ‘बेस्ट लायन्स ब्रान्डिङ अवार्ड’ प्रदान गरिएको थियो।कार्यक्रममा लायन्स इन्टरनेशनल डाइरेक्टरमा निर्वाचित भएका राजन लम्साल लाई सम्मान गरेको थियो ।

त्यसैगरी, लायन्स अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउन योगदान पुर्याएका विभिन्न क्लब तथा पदाधिकारीहरूलाई डिस्ट्रिक्ट गभर्नर रमेश अधिकारीले अवार्ड तथा सम्मानपत्र प्रदान गरेका थिए।

कार्यक्रममा लायन्स इन्टरनेशनल डाइरेक्टर लायन राजन लम्साल ,पास्ट इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकाेटी लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपाल का फस्ट भाइस गभर्नर बिष्णुहरि फुयाल लगायतका बक्ताहरूले आआफ्नो धारणा ब्यक्त गरेका थिए ।

कार्यक्रमका क्रममा सहभागी सदस्यहरूको निःशुल्क स्वास्थ्य परीक्षणसमेत गरिएको थियो। लायन्स क्लब्स इन्टरनेशनलले सञ्चालन गर्दै आएका स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, विपद् राहत, भोकमरी न्यूनीकरण तथा सामुदायिक विकासलगायतका सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता पनि बैठकले व्यक्त गरेको छ।

डिस्ट्रिक्ट ३२५ के नेपालले सदस्यता विस्तार, सेवा गतिविधि र संगठनात्मक सुदृढीकरणमा उल्लेखनीय प्रगति हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो पहिचान थप बलियो बनाउँदै गएको जनाएको छ।










