शहरीकरणबीच पोखरामा निर्माण भयो ‘शीतल चौतारी’, विश्राम र आत्मीय संवादको नयाँ थलो

-


     हिडन खबर    
     श्रावण २४ गते २०८३ मा प्रकाशित


कास्की, साउन २५ । तीव्र शहरीकरणसँगै गाउँघरका चौतारी, पाटी–पौवा र यात्रुहरूलाई विश्राम दिने सार्वजनिक स्थलहरू हराउँदै गइरहेका बेला गण्डकी प्रदेशको राजधानी पोखरामा परम्परागत संस्कृतिको झल्को दिने ‘शीतल चौतारी’ निर्माण गरिएको छ।

पोखरा उद्योग वाणिज्य संघको भवन परिसरमा निर्माण गरिएको ‘शीतल चौतारी’को एक समारोहबीच विधिवत् समुद्घाटन गरिएको हो।

व्यवसायी, सेवाग्राही तथा आगन्तुकहरूलाई केही समय विश्राम गर्न, आपसी भेटघाट तथा आत्मीय संवाद गर्न सहज वातावरण उपलब्ध गराउने उद्देश्यले चौतारी निर्माण गरिएको संघले जनाएको छ। आधुनिक शहरमा सार्वजनिक विश्रामस्थलको अभाव बढिरहेका बेला निर्माण गरिएको यो चौतारीले सामाजिक सद्भाव, मानवीय सम्बन्ध र सामुदायिक संस्कृतिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

संघका पदाधिकारीहरूले चौतारी केवल भौतिक संरचना नभई मानिसहरूबीचको सम्बन्धलाई नजिक बनाउने साझा स्थलका रूपमा विकास गरिने बताएका छन्। साथै यसले संघ परिसरलाई थप व्यवस्थित, आकर्षक र सेवाग्राहीमैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

चौतारी निर्माण तथा समुद्घाटन कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, विशिष्ट अतिथि, संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा शुभेच्छुकहरूप्रति संघले आभार व्यक्त गरेको छ।

‘व्यवस्थित परिसर, आत्मीय वातावरण र व्यवसायीमैत्री संघ—हाम्रो निरन्तर प्रयास’ भन्ने नारालाई व्यवहारमा उतार्ने उद्देश्यसहित निर्माण गरिएको शीतल चौतारीले आधुनिक शहरमा हराउँदै गएको चौतारी संस्कृतिको संरक्षणमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ।