
बागलुङ । गायक तथा सर्जक प्रशान्त कौशलको नयाँ गीत ‘रानीबन’को भिडियो चाँडै सार्वजनिक हुने भएको छ। गीतको पोस्टर सार्वजनिक भएसँगै दर्शक तथा संगीतप्रेमीमाझ यसको चर्चा र उत्सुकता बढ्न थालेको छ।
प्रशान्त कौशलको शब्द तथा संगीत रहेको गीतमा प्रशान्त कौशल र सिम्रन परियारको स्वर रहेको छ। गीतको भिडियोमा प्रशान्त कौशल, रमेश विश्वकर्मा र सन्ध्या परियारले अभिनय गरेका छन्।
गीतको भिडियो बागलुङ जिल्लाको सिगान लामिचौरमा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ। प्रशान्त कौशलको जन्मथलोसमेत रहेको उक्त स्थानका प्राकृतिक दृश्य, स्थानीय संस्कृति र मौलिक परिवेशलाई भिडियोमा आकर्षक रूपमा प्रस्तुत गरिएको बताइएको छ।
निर्माण टिमका अनुसार ‘रानीबन’ले गाउँघरको परिवेश, स्थानीय जीवनशैली र आत्मीय सम्बन्धका कथालाई संगीतमार्फत दर्शकमाझ प्रस्तुत गर्ने प्रयास गरेको छ। यसले ग्रामीण परिवेशसँग जोडिएका दर्शकलाई विशेष रूपमा आकर्षित गर्ने विश्वास गरिएको छ।
गीतमा आकाश नेपालीको एरेन्ज तथा मिक्सिङ रहेको छ भने दिनेश दर्जी प्रोडक्सन म्यानेजरका रूपमा रहेका छन्। गीतको कथा प्रशान्त कौशल स्वयंले तयार गरेका हुन्। भिडियोको छायांकन तथा सम्पादन प्रवेश पोखरेलले गरेका छन् भने मेकअप मदन न्यौपाने र निर्देशन सुरेश थापाले गरेका छन्।
पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले गीतप्रति दर्शकको साथ, सुझाव र प्रतिक्रियाको अपेक्षा गरेको छ। केही समयभित्रै सार्वजनिक हुने तयारीमा रहेको ‘रानीबन’ले दर्शकमाझ कस्तो प्रतिक्रिया पाउनेछ भन्ने प्रतीक्षा बढेको छ।









