गौरीधाम शिवमन्दिरमा निःशुल्क स्वास्थ्य शिविर तथा प्रसाद वितरण

-


     हिडन खबर    
     श्रावण १९ गते २०८३ मा प्रकाशित


बागलुङ, साउन १९

बागलुङ नगरपालिका–४ स्थित गौरीधाम शिवमन्दिरमा निःशुल्क स्वास्थ्य शिविर तथा प्रसाद वितरण कार्यक्रम सम्पन्न भएको छ। बागलुङ उद्योग वाणिज्य संघको आयोजना तथा नेपाली सेनाको कालिजंग गण, घोडाबाँधे ब्यारेक बागलुङको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो।

समुदायमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने तथा सामाजिक उत्तरदायित्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित शिविरमा स्थानीय बासिन्दाले निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श सेवा लिएका थिए। शिविरमा विभिन्न रोगहरूको प्रारम्भिक परीक्षण, आवश्यक स्वास्थ्य परामर्श तथा औषधि वितरणसमेत गरिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले जानकारी दिनुभयो।

शिविरमा नेपाली सेनाका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको थियो। विशेषगरी ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा आर्थिक रूपमा विपन्न नागरिकले शिविरबाट प्रत्यक्ष लाभ लिएको बताइएको छ। संघका महासचिव इन्द्रमणि पौडेल (अर्जुन) का अनुसार शिविरमा १११ जना महिला र ३० जना पुरुष गरी १४१ जनाले स्वास्थ्य परीक्षण गराएका थिए।

स्वास्थ्य शिविरसँगै गौरीधाम शिवमन्दिर परिसरमा भक्तजन तथा उपस्थित सर्वसाधारणका लागि प्रसाद वितरण कार्यक्रमसमेत आयोजना गरिएको थियो। धार्मिक तथा सामाजिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यले आयोजित कार्यक्रममा भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका सहभागीहरूले यस्ता निःशुल्क स्वास्थ्य शिविरले स्थानीय तहका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूले आगामी दिनमा पनि यस्ता सामाजिक तथा जनहितका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन्।

बागलुङ उद्योग वाणिज्य संघले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा तथा जनहितका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यस्ता कार्यक्रमले नागरिकसँगको सम्बन्ध अझ सुदृढ बनाउन प्रभावकारी भूमिका खेल्ने कालिजंग गणका गणपति प्रमुख सेनानी शिवबहादुर अधिकारीले बताउनुभयो।

कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी शिवबहादुर अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, उद्योगी–व्यवसायी तथा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो।