
बागलुङ, साउन १९ — मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको गल्कोट नगरपालिका–४ भलावट क्षेत्रमा गएराति जीप दुर्घटना भएको छ।
प्रहरीका अनुसार नरेठाँटीबाट हटियातर्फ जाँदै गरेको ग १ ज ६७८५ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब ३० देखि ४० मिटर तल खेतमा खस्दा दुर्घटना भएको हो।
गएराति करिब १०:१५ बजे भएको दुर्घटनामा गल्कोट नगरपालिका–१ दुधिलाभाटी निवासी चन्द्रबहादुर भण्डारीको स्वामित्वमा रहेको जीप पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ।
दुर्घटनाका बेला जीप पर्वतको फलेवास नगरपालिका–११ पाङ्ग्राङ निवासी २४ वर्षीय सोमबहादुर नेपालीले चलाइरहेका थिए। दुर्घटनामा कुनै मानवीय क्षति नभएको तथा चालक सकुशल रहेको जनाइएको छ। चालकलाई सामान्य अवस्थामै फेला पारिएको र कुनै गम्भीर चोटपटक नलागेको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।











