
बागलुङ, साउन १७
जिल्ला प्रहरी कार्यालय बागलुङको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, शाखा कार्यालय बागलुङको समन्वयमा प्रहरी कर्मचारीहरूको मनोबल अभिवृद्धि, तनाव व्यवस्थापन तथा खुसीयालीपूर्ण जीवनका रहस्य विषयक उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईसहित प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा ब्रह्माकुमार ऋषिराम न्यौपानेले प्रेरणादायी प्रशिक्षण प्रदान गर्दै सकारात्मक सोच, मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, कार्यस्थलमा अनुशासन र टिमवर्कको महत्वबारे प्रकाश पारेका थिए।

उनले व्यस्त र चुनौतीपूर्ण सेवामा कार्यरत प्रहरी कर्मचारीहरूले आफ्नो मानसिक तथा भावनात्मक स्वास्थ्यलाई सन्तुलित राख्न सकेमा कार्यक्षमता र सेवाप्रवाह अझ प्रभावकारी बन्ने बताए। साथै आत्मविश्वास, धैर्यता, आपसी सम्मान, सहकार्य र सकारात्मक दृष्टिकोणले व्यक्तिगत तथा व्यावसायिक जीवनलाई सफल र खुसीयालीपूर्ण बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरे।

प्रशिक्षणका क्रममा मानसिक सुदृढता, व्यक्तिगत विकास, आत्मीय सम्बन्धको महत्व तथा कठिन परिस्थितिमा समेत सकारात्मक ऊर्जा कायम राख्ने उपायबारे सहभागीहरूलाई जानकारी गराइएको थियो।
कार्यक्रमले प्रहरी कर्मचारीहरूलाई तनाव व्यवस्थापन गर्दै जिम्मेवारीपूर्ण सेवासँगै स्वस्थ, सन्तुलित र खुसीयालीपूर्ण जीवनयापन गर्न प्रेरणा प्रदान गरेको आयोजकले जनाएको छ।










