
काठमाडौं, साउन १५ ।”हामी सेवा गर्छौं” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपाल अन्तर्गतको जोन बैठक सफलतापूर्वक सम्पन्न भएको छ।

जोन चेयरपर्सन राजन श्रेष्ठको नेतृत्वमा स्वयम्भूस्थित क्वालिटी दरबार क्याफेमा शुक्रबार डिस्ट्रिक्ट गभर्नरको प्रथम एड्भाइजरी कमिटी मिटिङ सम्पन्न भएको हो। बैठकमा जोन अन्तर्गतका विभिन्न लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

बैठकमा चालु लायन वर्षका कार्यक्रम, सेवा गतिविधि, सदस्यता विस्तार, नेतृत्व विकास तथा समुदाय केन्द्रित सामाजिक कार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको बताइएको छ। सहभागीहरूले लायन्सको सेवामूलक अभियानलाई थप सशक्त बनाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउन साझा प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमको सफलतामा क्लस्टर चिफ सुभाष विक्रम राई र रिजन चेयरपर्सन नवराज चालिसेको महत्वपूर्ण सहयोग तथा मार्गदर्शन रहेको भन्दै सहभागीहरूले आभार व्यक्त गरेका छन्।

जोन चेयरपर्सन राजन श्रेष्ठको सक्रिय नेतृत्व, समर्पण र व्यवस्थापन क्षमताको प्रशंसा गर्दै सहभागीहरूले आगामी दिनमा पनि यस्तै सफल कार्यक्रममार्फत लायन्सको गरिमा अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।

डिस्ट्रिक्ट पीआरओ इन चिफ सुरेन्द्रबाबु श्रेष्ठले सबै क्लब, पदाधिकारी तथा सदस्यहरूबीचको सहकार्य र एकताले यस लायन वर्षलाई अझ प्रभावकारी, उपलब्धिमूलक र सेवामुखी बनाउने विश्वास व्यक्त गरे।
लायन्सका सदस्यहरूले सेवा, मित्रता र मानवताको भावनालाई केन्द्रमा राखेर समाज रूपान्तरणका कार्यमा निरन्तर अग्रसर रहने प्रतिबद्धता समेत जनाएका छन्।










