“पर्याप्त वर्षा नहुँदा बागलुङका खेत बाँझै, किसान चिन्तित”

-


     राजेशचन्द्र राजभण्डारी     
     श्रावण १५ गते २०८३ मा प्रकाशित


बागलुङ साउन १५

बागलुङमा पर्याप्त वर्षा नहुँदा धान रोपाइ प्रभावित भएको छ। मनसुनको समयमा समेत अपेक्षित पानी नपरेपछि आकाशे पानीको भरमा खेती गर्ने किसान चिन्तित बनेका छन्। बागलुङ नगरपालिकाका केही वडामा अझै पनि खेत बाँझै रहेका छन्। साउन काे दाेस्राे साता लागिसक्दा ८६ प्रतिशत मात्र धान राेपाइ भएको तथ्यांक देखिन्छ ।

मनसुन सक्रिय भए पनि बागलुङमा आवश्यक मात्रामा वर्षा नहुँदा धान रोपाइ प्रभावित बनेको छ। आकाशे पानीको भरमा खेती गर्ने किसानहरू पर्याप्त पानी नपर्दा समयमै धान रोप्न नपाएर समस्यामा परेका छन्।

साउनको दोस्रो सातासम्म आइपुग्दा पनि बागलुङ नगरपालिकाका विभिन्न स्थानमा खेत बाँझै देखिएका छन्। विशेषगरी सिँचाइ सुविधा नपुगेका वडा नम्बर ४, ५ र ६ का किसानहरू सबैभन्दा बढी प्रभावित भएका छन्।

असारमै रोपेर सक्नुपर्ने धानबाली साउनको दोस्रो सातासम्म पनि रोप्न नपाउँदा किसान चिन्तित बनेका छन्। पर्याप्त वर्षा नहुँदा खेतीपाती नै संकटमा परेको उनीहरूको गुनासो छ।

बागलुङ नगरपालिकाका पाँच वटा वडामा सिँचाइ नहरको व्यवस्था नहुँदा किसानहरू पूर्ण रूपमा आकाशे पानीमा निर्भर छन्। वर्षा अभावका कारण अझै धेरै खेतमा रोपाइ हुन नसकेको किसानहरूको भनाइ छ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार बागलुङ जिल्लामा हालसम्म करिब ४ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान रोपाइ सम्पन्न भएको छ। यो कुल लक्ष्यको करिब ८४ प्रतिशत हो। बाँकी १६ प्रतिशत क्षेत्रमध्ये अधिकांश बागलुङ नगरपालिकाभित्रका वर्षामा निर्भर खेतहरू रहेका कार्यालयको भनाइ छ।

वर्षा अभावका कारण कृषकहरू मारमा परेको भन्दै प्रभावित किसानलाई स्थानीय, प्रदेश र संघीय सरकारले राहत तथा सहुलियत कार्यक्रम ल्याउनुपर्ने स्थानीयवासीहरूको माग छ।

साउनको दोस्रो सातासम्म पनि पर्याप्त वर्षा नहुँदा असारमै धान रोपेर मंसिरमा भित्र्याउने योजनामा रहेका किसानहरू चिन्तित बनेका छन्। कतिपय किसानले बालीको हिस्सा बुझाउने सर्तमा अरूको जग्गा कमाइरहेका छन्। समयमा रोपाइ हुन नसके उत्पादनमा गिरावट आउने र किसानको आम्दानीमा समेत प्रत्यक्ष असर पर्ने देखिएको छ।

जलवायु परिवर्तनको प्रभावसँगै वर्षाको अनियमितता बढ्दै जाँदा सिँचाइ पूर्वाधारको अभाव भएका क्षेत्रमा कृषि उत्पादन थप जोखिममा परेको छ। बागलुङका किसान अहिले आकाशतर्फ हेर्दै पर्याप्त वर्षाको प्रतीक्षामा छन्।