
काठमाडौं, साउन १४
लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपाल अन्तर्गत जोन चेयरपर्सन मीना श्रेष्ठको नेतृत्वमा डिस्ट्रिक गभर्नरको प्रथम एड्भाइजरी कमिटी (जोन मिटिङ) सफलतापूर्वक सम्पन्न भएको छ।
काठमाडौंको चाबहिलमा बिहीबार आयोजित उक्त बैठकमा जोन अन्तर्गतका सबै लायन्स क्लबका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो। बैठकको सफल आयोजना, व्यवस्थापन तथा प्रभावकारी सञ्चालनका लागि जोन चेयरपर्सन मीना श्रेष्ठको नेतृत्वको व्यापक प्रशंसा गरिएको छ।
डिस्ट्रिक ३२५ के नेपालका मिसन १.५ प्रमुख महाप्रसाद पाण्डेले श्रेष्ठले देखाएको सक्रियता, समर्पण, उत्कृष्ट समन्वय क्षमता र समय व्यवस्थापनका कारण बैठक सफलतापूर्वक सम्पन्न भएको उल्लेख गरेका छन्। उनले श्रेष्ठको नेतृत्व, व्यावसायिकता र संस्थाप्रतिको प्रतिबद्धता अन्य लायन्स सदस्यहरूका लागि प्रेरणादायी रहेको बताएका छन्।
त्यसैगरी, बैठक सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने क्लष्टर चिफ तमन्ना सिंह तथा रिजन चेयरपर्सन प्रमोद खनाललाई पनि विशेष बधाई तथा धन्यवाद व्यक्त गरिएको छ। उनीहरूले जोन चेयरपर्सनसँग प्रभावकारी समन्वय गर्दै कार्यक्रमलाई सफल बनाउन उल्लेखनीय सहयोग पुर्याएको जनाइएको छ।
लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपालले चालु लायन वर्ष २०२६/०२७ मा संगठन विस्तार, सदस्यता अभिवृद्धि र सामाजिक सेवाका कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाउने लक्ष्यसहित विभिन्न जोन तथा रिजनस्तरीय बैठकहरू सञ्चालन गरिरहेको छ।










