
बागलुङ । नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सुनौलो बागलुङ संस्थाले देउसी–भैलो कार्यक्रम सुरु गरेको छ।
‘संस्कृति जोगाऔँ, परम्परा बचाऔँ, हाम्रो पहिचानलाई जीवन्त राखौँ’ भन्ने सन्देशसहित बागलुङको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा सञ्चालन हुने कार्यक्रमको उद्घाटन जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले गर्नुभएको हो।

कात्तिक २० गतेदेखि २७ गतेसम्म आठ दिन सञ्चालन हुने कार्यक्रममा देउसी–भैलोमार्फत मौलिक लोकसंस्कृतिको संरक्षणसँगै सामाजिक सद्भाव, भाइचारा र एकताको सन्देश प्रवाह गरिने संस्थाले जनाएको छ।

देउसी–भैलोबाट संकलित रकम सामाजिक उत्तरदायित्वअन्तर्गत परोपकारी तथा सामाजिक कार्यमा खर्च गरिने सुनौलो नेपालका अध्यक्ष दिलीप पटेलले हिँड्ने खबरलाई बताउनुभयो।

नेपाली समाजको मौलिक पहिचान बोकेको देउसी–भैलो मनोरञ्जनको माध्यम मात्र नभई पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदा पनि हो। यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो भाषा, कला, संस्कृति र परम्परासँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
संस्थाले मौलिक संस्कृति र परम्पराको संरक्षणसँगै सामाजिक सेवाको उद्देश्य राखेर सञ्चालन गरेको अभियानमा सबैको साथ र सहयोगको अपेक्षा गरेको छ।









