
काठमाडौं ।साउन १३
हरितालिका तीज–२०८३ को अवसर पारेर आमाछोरीको भावनात्मक सम्बन्ध र विदेशिएका नेपाली छोरीहरूको पीडालाई केन्द्रमा राखेर तयार गरिएको नयाँ तीज गीत ‘छोरीकी जुनी’ सार्वजनिक गरिएको छ।
गीतले आमाको माया, जन्मघरप्रतिको आत्मीयता, परिवारबाट टाढा रहँदाको भावनात्मक संघर्ष तथा तीजका बेला घर फर्किन नपाउने छोरीहरूको पीडालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। नेपाली महिलाहरूको महान पर्व तीज केवल नाचगान र दर खाने पर्व मात्र नभई जन्मघरको सम्झना, आमाबुबासँगको भेटघाट तथा सुख–दुःख साटासाट गर्ने अवसरका रूपमा समेत चिनिन्छ। गीतले यही यथार्थलाई कलात्मक रूपमा उजागर गरेको छ।
सार्वजनिक गीत अमेरिकामा अकालमै निधन भएकी ममता काफ्लेको स्मृतिमा समर्पित गरिएको छ। गीतमार्फत विदेशमा रहेका नेपाली छोरीहरूको व्यथा, परिवारको प्रतीक्षा र समाजमा छोरीहरूले भोग्नुपर्ने विविध चुनौतीलाई संवेदनशील ढंगले चित्रण गरिएको छ। यसले तीजको मौलिक मर्म र सामाजिक यथार्थलाई उजागर गर्ने प्रयास गरेको स्रष्टाहरूले बताएका छन्।
गीतमा देवी घर्ती र निशा केसीको स्वर रहेको छ भने संगीत युस्कल छिन्नालले तयार गरेका छन्। सुनिल पौडेलको शब्द रहेको गीतको निर्देशन तेजेन्द्र भण्डारीले गरेका हुन्।
पछिल्लो समय तीज गीतहरू मनोरञ्जन र नाचगानमा केन्द्रित भइरहेका बेला ‘छोरीकी जुनी’ ले सामाजिक सन्देश, मातृत्वको माया र छोरीहरूको जीवनभोगाइलाई केन्द्रमा राख्दै तीजको मौलिक भावनालाई पुनर्जीवित गर्ने प्रयास गरेको छ। यही कारण यो गीत यस वर्षका सन्देशमूलक र अर्थपूर्ण तीज गीतमध्ये एक बन्ने अपेक्षा गरिएको छ।









