जन्मदिनमा वृद्धाश्रममा भोजन सेवा, लायन्सकर्मीबाट प्रेरणादायी सामाजिक कार्य

-


     राजेशचन्द्र राजभण्डारी     
     श्रावण १२ गते २०८३ मा प्रकाशित


काठमाडौं, साउन १३ । जन्मदिनलाई केवल व्यक्तिगत खुसीको अवसरका रूपमा सीमित नराखी सामाजिक सेवासँग जोड्ने उदाहरणीय कार्य गर्दै लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका दुई लायन्सकर्मीले वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकलाई भोजन सेवा प्रदान गरेका छन्।

लायन्स क्लब अफ काठमाडौं मनास्लु गणेश हिमालका पूर्वअध्यक्ष तथा ग्लोबल कजेज चिफ लायन इन्द्र भट्ट र क्लबका डाइरेक्टर लायन कपिल बगालेले आफ्नो जन्मदिनको अवसर पारेर काठमाडौंस्थित नवजीवन परोपकार समाज वृद्धाश्रममा आश्रित आमा–बुवाहरूलाई एक छाक भोजन गराएका हुन्।

उहाँहरूले जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै वृद्धाश्रममा भोजन सेवा प्रदान गरेपछि त्यहाँ आश्रित ज्येष्ठ नागरिकहरू खुसी भएका थिए। लायन्सकर्मीहरूको यस कार्यलाई मानव सेवा र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने प्रेरणादायी उदाहरणका रूपमा हेरिएको छ।

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं मनास्लु गणेश हिमालका अध्यक्ष लायन रुपेश रोकाहाको नेतृत्वमा क्लबका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। संस्थापक अध्यक्ष लायन राजन प्रसाद काप्री, पूर्वअध्यक्षहरू, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा अन्य सदस्यहरूका साथै लियो क्लबका पदाधिकारी र सदस्यहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो।

यस अवसरमा डिस्ट्रिक्ट क्याबिनेट सचिव लायन गणेश जीसीको समेत विशेष उपस्थिति रहेको थियो। सहभागीहरूले जन्मदिनजस्ता व्यक्तिगत अवसरलाई समाजसेवामा रूपान्तरण गर्न सके समाजमा सकारात्मक सन्देश प्रवाह हुने धारणा व्यक्त गरेका थिए।

लायन्स अभियानले अंगीकार गरेको ‘हंगर रिलिफ’ कार्यक्रमअन्तर्गत गरिएको भोजन सेवाले मानवताको भावना बलियो बनाउनुका साथै समाजका असहाय तथा ज्येष्ठ नागरिकप्रति जिम्मेवारीबोध बढाउन महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूको भनाइ थियो।

जन्मदिनमा खर्च हुने रकमलाई समाजसेवामा उपयोग गर्दै वृद्धाश्रममा भोजन सेवा प्रदान गर्ने लायन इन्द्र भट्ट र लायन कपिल बगालेको कार्यले अन्य व्यक्तिलाई समेत सामाजिक सेवामा प्रेरित गर्ने विश्वास गरिएको छ। ‘जहाँ सेवा हुन्छ, त्यहीँ साँचो नेतृत्वको पहिचान हुन्छ’ भन्ने सन्देशलाई व्यवहारमा उतार्दै गरिएको यो कार्य सामाजिक क्षेत्रमा अनुकरणीय बनेको छ।