लायन्स डिष्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका १५ क्लब तथा लियो क्लबका पदाधिकारीलाई पदस्थापन

-


     राजेशचन्द्र राजभण्डारी     
     श्रावण १३ गते २०८३ मा प्रकाशित


बागलुङ, साउन १३

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत बागलुङ जिल्लामा क्रियाशील लायन्स तथा लियो क्लबहरूको संयुक्त पदस्थापना तथा सदस्यता ग्रहण (Joint Induction & Installation Ceremony) कार्यक्रम सम्पन्न भएको छ।

होटल सितल एण्ड पार्टी प्यालेसमा आयोजित कार्यक्रममा वर्ष २०२६/२७ का लागि निर्वाचित क्लब अध्यक्ष तथा पदाधिकारीहरूलाई डिष्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारी र प्रथम उप–डिष्ट्रिक्ट गभर्नर लायन विष्णुहरि फुयालले पद तथा गोपनीयताको शपथ गराउँदै पदस्थापन गराएका थिए।

कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेशनलका पूर्व अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटी, पूर्व डिष्ट्रिक्ट गभर्नर सुचित्रा थापा, द्वितीय उप–डिष्ट्रिक्ट गभर्नर हसनकुमार गोपाली, चिफ एड्भाइजर मीनराज लगायतका वक्ताहरूले लायन्सको मूल मन्त्र “We Serve” लाई आत्मसात् गर्दै मानवीय सेवा, सामाजिक उत्तरदायित्व तथा समुदाय केन्द्रित कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन आग्रह गरेका थिए।

वक्ताहरूले लायन्स अभियानलाई सदस्य वृद्धि, नेतृत्व विकास, वातावरण संरक्षण, स्वास्थ्य सेवा, शिक्षा तथा विपन्न समुदायको उत्थानसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले सामाजिक सेवामार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउन नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा लायन्स क्लब अफ बागलुङ आवाजको स्पोन्सरशिपमा नयाँ लायन्स क्लब गठन भएको घोषणा गरिएको थियो। त्यसैगरी लायन्स क्लब अफ बागलुङ शालिग्रामको स्पोन्सरशिपमा नयाँ लियो क्लब गठन भएको घोषणा गर्दै युवाहरूलाई सेवामूलक अभियानमा आबद्ध गराउने पहलको स्वागत गरिएको थियो।

संयुक्त पदस्थापना कार्यक्रममा बागलुङ जिल्लाका विभिन्न लायन्स तथा लियो क्लबका पदाधिकारी, सदस्य, समाजसेवी तथा अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले आगामी कार्यकालमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा मानवीय सेवाका कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमले बागलुङमा लायन्स आन्दोलनलाई थप सशक्त, संगठित र सेवामुखी बनाउने विश्वास व्यक्त गर्दै सम्पन्न भएको आयोजकले जनाएको छ।