लागूऔषध दुर्व्यसन र सडक दुर्घटना न्यूनीकरणबारे सैनिकलाई प्रशिक्षण

-


     हिडन खबर    
     श्रावण १२ गते २०८३ मा प्रकाशित


बागलुङ, साउन १२ – जिल्ला प्रहरी कार्यालय बागलुङले लागूऔषध दुर्व्यसन तथा सडक दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ।

काठेखोला गाउँपालिका–५ घोडाबाँधेस्थित श्री कालीजंग गण, घोडाबाँधे ब्यारेकको सभाहलमा आयोजित कार्यक्रममा गणका प्रमुख प्रमुख सेनानी शिवबहादुर अधिकारीको अध्यक्षता रहेको थियो।
कार्यक्रममा गणमा कार्यरत सेनानी, सह–सेनानी तथा विभिन्न दर्जाका सैनिक कर्मचारीका साथै सी.एस. १० सैन्य आधार तालिमका शिक्षार्थीहरूको सहभागिता रहेको थियो।

प्रशिक्षणका क्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक चिरञ्जिवी अधिकारीले लागूऔषध दुर्व्यसनका कारण, असर तथा यसबाट बच्ने उपायबारे जानकारी गराउनुभएको थियो। त्यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायव निरीक्षक सन्तोष ज्ञवालीले सडक दुर्घटनाका प्रमुख कारण, ट्राफिक नियमको पालना तथा दुर्घटना न्यूनीकरणका उपायबारे प्रशिक्षण दिनुभएको थियो।

बढ्दो लागूऔषध दुर्व्यसन र सडक दुर्घटनाप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम प्रभावकारी र उपलब्धिमूलक रहेको सहभागीहरूले बताएका छन्।