अमेरिकाबाट कल्पना देवकोटाको सांगीतिक उपहार ‘मायाले मलाई हेरेको हेरेई’ सार्वजनिक

-


     हिडन खबर    
     श्रावण ११ गते २०८३ मा प्रकाशित


काठमाडौं

अमेरिकामा रहेर पनि नेपाली लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा सक्रिय गायिका कल्पना देवकोटा पौडेलको नयाँ लोकदोहोरी गीत ‘मायाले मलाई हेरेको हेरेई’ सार्वजनिक भएको छ। चर्चित गायक खेम सेञ्चुरीसँगको युगल स्वरमा रहेको गीतले सार्वजनिक भएसँगै दर्शक–श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ।

गीतमा नेत्र आर्यालको शब्द, कुमार बीकेको संगीत तथा खेम सेञ्चुरीको हुकलाइन रहेको छ। बिन किस्मत रेकर्डिङ स्टुडियोमा रेकर्डिङ, मिक्सिङ र मास्टरिङ गरिएको गीतले प्रेम, आकर्षण र मायाका भावलाई सरल र सुमधुर शैलीमा प्रस्तुत गरेको छ।

गीतको म्युजिक भिडियोको निर्देशन नेपाली सांगीतिक क्षेत्रका अनुभवी निर्देशक प्रकाश भट्टले गरेका छन्। दुई दशकभन्दा लामो समयदेखि हजारौं सफल म्युजिक भिडियो निर्देशन गरिसकेका भट्टले यस गीतमा पनि आकर्षक दृश्य संयोजन, जीवन्त अभिनय र उत्कृष्ट नृत्यमार्फत गीतको भावलाई प्रभावशाली ढंगले प्रस्तुत गरेका छन्।

निर्माता लक्ष्मण पौडेल रहेको भिडियोमा उत्कृष्ट छायांकन, सम्पादन तथा रंग संयोजनले थप आकर्षण थपेको छ। अमेरिकामा रहेर पनि नेपाली भाषा, कला र संस्कृतिप्रतिको लगावलाई निरन्तरता दिँदै आएकी गायिका कल्पना देवकोटाले यस गीतमार्फत प्रवासबाट समेत नेपाली लोकसंगीतमा योगदान निरन्तर जारी रहेको सन्देश दिएकी छन्।

सार्वजनिक भएको छोटो समयमै गीतले युट्युब तथा विभिन्न डिजिटल प्लेटफर्ममा दर्शक–श्रोताको राम्रो साथ पाउन थालेको छ। गीतको शब्द, संगीत, गायन र निर्देशनको सशक्त संयोजनलाई दर्शकले विशेष रुचाएका छन्।