
बागलुङ, साउन १० – बागलुङ नगरपालिका–२ हल्लनचोकस्थित एक रेस्टुरेन्टमा इन्भर्टर जडान गर्ने क्रममा करेन्ट लागेर एक युवक गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार काठेखोला गाउँपालिका–४ तङ्ग्राम घर भई हाल बागलुङ नगरपालिका–२ हल्लनचोकस्थित वेस्ट वान रेस्टुरेन्टमा कार्यरत २६ वर्षीय डम्मरबहादुर पुन शुक्रबार साँझ करिब ६:४५ बजे इन्भर्टर जडान गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका हुन्।
घाइते पुनलाई तत्काल उपचारका लागि धौलागिरी प्रादेशिक अस्पताल बागलुङ पुर्याइएको प्रहरीले जनाएको छ। अस्पतालमा प्रारम्भिक उपचारका क्रममा उनको टाउको र खुट्टामा चोट देखिएको तथा बोल्न नसक्ने अवस्थामा रहेको बताइएको छ।
घटनापछि रेस्टुरेन्ट सञ्चालक रेशमबहादुर आले उपचार व्यवस्थापनमा संलग्न रहेका छन्। घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी नायव निरीक्षक श्रद्धा कवरको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









