
बनेपा (काभ्रे), साउन ९
अन्तर्राष्ट्रिय सेवा संस्था लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई नेपाल (एमडी ३२५) अन्तर्गत जोन २७ को डिस्ट्रिक्ट गभर्नर फर्स्ट एड्भाइजरी कमिटी बैठक शुक्रबार धनेश्वरस्थित ढिँडो दरबारमा सम्पन्न भएको छ।
लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वर काभ्रे को आयोजनामा सम्पन्न बैठकमा रिजन चेयरपर्सन लायन रूपबहादुर रावल, जोन चेयरपर्सन लायन भेषराज अर्याल, रिजन मेन्टर लायन रामप्रसाद ढकाललगायत विभिन्न क्लबका अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा डिस्ट्रिक्ट एक्जिक्युटिभ एड्भाइजर लायन महेन्द्रकुमार राठी, जीएसटी कोअर्डिनेटर डा. गोपाल प्रधान, डिस्ट्रिक्ट कोअर्डिनेटर बालमुकुन्द खड्का, डिस्ट्रिक्ट डिपार्टमेन्ट चिफ गीता बिष्ट तथा लायन नवराज अधिकारीको विशेष उपस्थिति रहेको थियो।
बैठकमा क्लबहरूको वार्षिक कार्ययोजना, सदस्यता विस्तार, सेवा कार्यक्रम सञ्चालन, एलसीआईएफ (LCIF) अभियान, वित्तीय व्यवस्थापन, समयमै प्रतिवेदन पेश गर्ने व्यवस्था, पोर्टल अद्यावधिक तथा क्लब प्रशासनका विषयमा विस्तृत छलफल भएको क्लब अध्यक्ष नन्दलाल श्रेष्ठले जानकारी दिए।
छलफलका क्रममा लायन्सको वर्तमान अवधारणा “Caring by Sharing” लाई आत्मसात् गर्दै क्लबहरूबीच समन्वय र सहकार्य बढाई समाजसेवाका कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
बैठकको निष्कर्ष प्रस्तुत गर्दै जोन चेयरपर्सन लायन भेषराज अर्यालले जोन २७ अन्तर्गतका सबै क्लबहरूले गुणस्तरीय सेवा, प्रभावकारी नेतृत्व, समयमै प्रतिवेदन पेश तथा समुदाय केन्द्रित सेवा गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको बताए।
लायन्सको मूल नारा “We Serve” लाई व्यवहारमा उतार्दै सामाजिक सेवाका कार्यक्रमलाई अझ व्यापक र प्रभावकारी बनाउने लक्ष्यसहित बैठक सम्पन्न भएको आयोजकले जनाएको छ।










