
काठमाडौं, साउन १०
सामाजिक तथा मानवीय सेवामा सक्रिय इनर ह्वील डिस्ट्रिक्ट ३५० अन्तर्गतको इनर ह्वील क्लब बागमती को १८औँ चार्टर डे समारोह राजधानीमा भव्य रूपमा सम्पन्न भएको छ।
समारोहमा क्लबकी चार्टर प्रेसिडेन्ट कमलप्रभा खरेल तथा पास्ट प्रेसिडेन्ट रबिना महत लाई विशेष सम्मान प्रदान गरिएको थियो। इनर ह्वील आन्दोलनको विस्तार, संस्थागत विकास तथा नेतृत्वदायी भूमिकामार्फत पुर्याउनुभएको उल्लेखनीय योगदानको कदरस्वरूप उहाँहरूलाई सम्मान गरिएको क्लबले जनाएको छ।

चार्टर प्रेसिडेन्ट कमलप्रभा खरेल इन्टरनेशनल इनर ह्वील बोर्ड अफ डाइरेक्टर्स मा नियुक्त हुनुभएको तथा पास्ट प्रेसिडेन्ट रबिना महत इनर ह्वील डिस्ट्रिक्ट ३५० को डिस्ट्रिक्ट ट्रेजरर मा नियुक्त हुनुभएको गौरवपूर्ण उपलब्धिलाई समारोहमा विशेष रूपमा सम्मान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि इनर ह्वील डिस्ट्रिक्ट ३५० की डा. सृष्टि श्रेष्ठ प्रजापति प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा नेशनल रिप्रेजेन्टेटिभ ज्ञानु श्रेष्ठ लगायत विभिन्न इनर ह्वील क्लबका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

इनर ह्वील क्लब बागमतीकी अध्यक्ष सञ्जिना आचार्य को अध्यक्षतामा सम्पन्न कार्यक्रम काठमाडौंस्थित दुसित प्रिन्सेस होटल मा आयोजना गरिएको थियो। कार्यक्रममा क्लबको १८ वर्षे यात्रा, सामाजिक सेवाका उपलब्धि तथा आगामी कार्ययोजनाबारे पनि चर्चा गरिएको थियो।

चार्टर डे समारोहले इनर ह्वीलको सेवामूलक अभियानलाई थप सशक्त बनाउँदै महिला नेतृत्व, सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रतिको प्रतिबद्धतालाई पुनः स्थापित गरेको सहभागीहरूले बताएका छन्।










