
बागलुङ, साउन १०
बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय विद्यार्थी लजिन थापाको हत्या आइफोनको विषयलाई लिएर भएको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) फणीन्द्र प्रसाईंका अनुसार साथीले बोकेको आइफोन माग्ने क्रममा विवाद हुँदा हत्या भएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको हो।
जन्मदिन मनाएर घर फर्किने क्रममा एकान्त ठाउँमा पारेर उक्त घटना घटाउने काम भएको प्रहरी प्रमुख प्रसाइले बताए ।
काठमाडौंको साइपल कलेजमा कक्षा ११ मा अध्ययनरत थापा साथी असिम वनको जन्मदिन मनाउन भन्दै साउन २ गते बागलुङको दगातुण्डाँडा प्राथमिक विद्यालयमा गएका थिए। सोही रातदेखि उनी सम्पर्कविहीन बनेपछि परिवारले खोजी थालेको थियो।
प्रहरीका अनुसार जन्मदिनको कार्यक्रममा सहभागी सात जना किशोरहरूले मादक पदार्थ सेवन गरी रातभर विद्यालयमै बसेका थिए। साउन ३ गते बिहान घर फर्किने क्रममा लजिनसँग रहेको आइफोन माग्ने विषयमा विवाद भएको थियो।
मोबाइल दिन अस्वीकार गरेपछि दुई जना साथीले कुटपिट गरी उनको हत्या गरेको अनुसन्धानबाट खुलेको छ।
घटनापछि प्रहरीले मोबाइलको आधारमा अनुसन्धान अघि बढाउन सक्ने डरले अभियुक्तहरूले उक्त आइफोन पुनः मृतककै पाइन्टको खल्तीमा राखेको समेत खुलेको एसपी प्रसाईंले जानकारी दिए।
हराइरहेका लजिनको खोजीका लागि स्थानीय प्रहरी, जिल्ला प्रहरी कार्यालय बागलुङ, इलाका प्रहरी कार्यालय गलकोट तथा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट खटिएको टोलीले खोजतलास गरेको थियो। ड्रोन र तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिएको थियो।
अनुसन्धानका क्रममा शंकास्पद व्यक्तिहरूसँग सोधपुछ गर्दा बडिगाड गाउँपालिका–१ का २० वर्षीय रेमबहादुर विक र १५ वर्षीय ददी परियारको संलग्नता देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।
साउन ९ गते बिहान बडिगाड गाउँपालिका–१ स्थित मनखोलामा झाडीले छोपिएको अवस्थामा लजिन थापाको शव फेला परेको थियो। घटनास्थलको मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि धौलागिरि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक बयानमा अभियुक्तहरूले मोबाइलको विषयमा भएको विवादपछि लजिनको हत्या गरी शव मनखोलामा लुकाएको स्वीकार गरेका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
लजिन थापा एक महिनाअघि नागरिकता प्रमाणपत्र बनाउने सिलसिलामा बागलुङ घरमा आएका थिए ।










