लायन्स क्लबका पदाधिकारीबीच पहिलो सल्लाहकार समिति बैठक सम्पन्न

-


     हिडन खबर    
     श्रावण ७ गते २०८३ मा प्रकाशित


काठमाडौं, साउन ७

अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत जोनमा आबद्ध विभिन्न लायन्स क्लबका पदाधिकारीहरूको सहभागितामा डिष्ट्रिक्ट गभर्नरको प्रथम सल्लाहकार समिति बैठक सम्पन्न भएको छ।

काठमाडौंको सामाखुसीमा आयोजित बैठकमा लायन्स क्लब अफ काठमाडौं मनामैजु, काठमाडौं रोजमेरी, काठमाडौं श्री मातृभूमि, काठमाडौं मनामैजु युथ तथा काठमाडौं सद्भावका पदाधिकारी र सदस्यहरूको सहभागिता रहेको थियो।

बैठकमा चालु लायन वर्ष २०२६–२७ का लागि तय गरिएका सामाजिक सेवा कार्यक्रम, सदस्यता विस्तार, नेतृत्व विकास, समुदायमुखी अभियान तथा क्लबहरूबीच समन्वय र सहकार्यका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा जोन चेयरपर्सन कमला शर्मा लगायतले लायन्स अभियानलाई प्रभावकारी बनाउने विषयमा आ–आफ्नो धारणा राखेका थिए।

‘Leading with Purpose’ भन्ने नारालाई आत्मसात् गर्दै समाजसेवा, वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा तथा मानवीय सेवाका क्षेत्रमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता बैठकले व्यक्त गरेको छ।

लायन्स क्लब्स इन्टरनेशनल विश्वकै ठूलो सामाजिक सेवा संस्थामध्ये एक मानिन्छ। नेपालमा पनि लायन्स क्लबले स्वास्थ्य शिविर, वृक्षरोपण, विपद् व्यवस्थापन, शैक्षिक सहयोग तथा विभिन्न मानवीय सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। बैठकले आगामी दिनमा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई अझ प्रभावकारी ढंगले अघि बढाउने निष्कर्ष निकालेको आयोजकले जनाएको छ।