
चितवन
सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएका सामाजिक अभियन्ता अर्जुन भुषाल यस वर्षको ‘रोटरी हिरो अवार्ड’ बाट सम्मानित भएका छन्।
रोटरी क्लब अफ नारायणगढको आठौँ पदस्थापना समारोहका अवसरमा भुषाललाई नगद १५ हजार रुपैयाँ सहित उक्त सम्मान प्रदान गरिएको हो।
भुषालले लामो समयदेखि समाजसेवा, मानव सेवा तथा विशेषगरी बेपत्ता भएका व्यक्तिहरूको खोजी, उद्धार र परिवारसँग पुनर्मिलन गराउने अभियानमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्।
सामाजिक उत्तरदायित्वप्रतिको उनको समर्पण, अथक प्रयास र सेवाभावको उच्च मूल्यांकन गर्दै रोटरी क्लब अफ नारायणगढले उनलाई यस प्रतिष्ठित सम्मानबाट सम्मानित गरेको जनाएको छ।
सम्मान ग्रहणपछि भुषालले रोटरी परिवारप्रति आभार व्यक्त गर्दै यो सम्मानले आफूलाई अझ बढी सामाजिक सेवामा समर्पित भएर काम गर्ने प्रेरणा र ऊर्जा प्रदान गरेको बताए। उनले आगामी दिनमा पनि मानव सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
बेपत्ता भएका नागरिकहरूको खोजीमा सक्रिय भूमिका निर्वाह गर्दै आएका भुषालले थुप्रै परिवारलाई आफ्ना आफन्तसँग पुनर्मिलन गराउन महत्वपूर्ण योगदान दिएका छन्। उनको सेवाभाव र सामाजिक सक्रियता धेरैका लागि प्रेरणाको स्रोत बनेको छ।
रोटरी हिरो अवार्डले भुषालको योगदानको सम्मान मात्र नगरी समाजमा निस्वार्थ भावले सेवा गर्ने व्यक्तिहरूलाई थप हौसला र प्रेरणा प्रदान गरेको विश्वास गरिएको छ।










