पहिरोका कारण भित्री सडक पूर्ण अवरुद्ध, खुलाउने प्रयास जारी

-


     हिड्न खबरदाता     
     श्रावण ५ गते २०८३ मा प्रकाशित


बागलुङ, साउन ५

बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित हरिचौर–मल्म–पाण्डवखानी भित्री सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।

इलाका प्रहरी कार्यालय गलकोटका अनुसार सोमबार बिहान करिब ७ः४० बजे खाउलेखोला क्षेत्रमा सडक माथिबाट ढुंगा, माटोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक (प्रनानि) बेदप्रसाद भुसालको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरी तथा सम्बन्धित निकायबीच समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

पहिरो खसेको स्थान इलाका प्रहरी कार्यालय गलकोटबाट करिब ५ किलोमिटर दक्षिणतर्फ पर्छ। सडक अवरुद्ध हुँदा उक्त मार्ग भएर आवतजावत गर्ने सवारीसाधन तथा यात्रुलाई समस्या भएको छ।

सडक खुलाउन आवश्यक पहल जारी रहेको र थप विवरण प्राप्त भएपछि जानकारी गराइने प्रहरीले जनाएको छ।