सुत्केरी महिलाको हेलिकोप्टरमार्फत काठमाडौं रिफर

-


     हिडन खबर    
     श्रावण ६ गते २०८३ मा प्रकाशित


बागलुङ, साउन ६

बागलुङको निसीखोला गाउँपालिका–३ ढाडखर्क निवासी ३९ वर्षीया मिना सुनारलाई सुत्केरी भएपछि स्वास्थ्य अवस्था गम्भीर बनेपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं रिफर गरिएको छ।

सुनारले मंगलबार बिहान करिब ७ बजे बोहोरा गाउँ स्वास्थ्य चौकीमा शिशु जन्माएकी थिइन्। सुत्केरी भएको केही समयपछि बुधबार राति करिब १ बजे उनी अचानक बेहोस भएकी थिइन्। शरीरभित्र अत्यधिक रक्तस्राव (इन्टरनल ब्लिडिङ) भई रगत जमेको आशंकापछि थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

उनीलाई बुधबार बिहान करिब ७ बजे बुर्तिबाङ अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा उपचार सम्भव नभएपछि थप विशेषज्ञ उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको प्रहरीले जनाएको छ।

स्वास्थ्यकर्मीका अनुसार उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै तत्काल उद्धार गरी उच्चस्तरीय उपचारका लागि काठमाडौं रिफर गरिएको हो।