लायन्स क्लबहरूको पहिलो जोन मिटिङ सम्पन्न, सामाजिक सेवामा सहकार्य बढाउने प्रतिबद्धता

-


     हिडन खबर    
     असार २७ गते २०८३ मा प्रकाशित


बागलुङ, असार २७ लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालअन्तर्गत जोन–१ का क्लबहरूको पहिलो एडभाइजरी कमिटी बैठक बागलुङमा सम्पन्न भएको छ।

लायन्स क्लब अफ धौलागिरि बागलुङको आयोजनामा तथा लायन्स क्लब अफ बागलुङ सिटी, लायन्स क्लब अफ बागलुङ मुक्तिनाथ र लायन्स क्लब अफ बागलुङ ब्लुसिपको सहकार्यमा बैठक आयोजना गरिएको हो।

बैठकमा सहभागी वक्ताहरूले लायन्स अभियानलाई अझ प्रभावकारी बनाउँदै सामाजिक सेवाका कार्यक्रमलाई समुदायमुखी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले नेतृत्व विकास, मानवीय सेवा, सामाजिक उत्तरदायित्व तथा क्लबहरूबीचको समन्वयलाई थप सुदृढ बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे।

कार्यक्रममा रिजन चेयरपर्सन रञ्जिता श्रेष्ठ, क्लस्टर चिफ अस्मिता गौतम तथा डिस्ट्रिक्ट चिफ एक्जुकेटिभ डाइरेक्टर दुर्गा कुँवरले लायन्सको मूल उद्देश्य समाजसेवा भएकाले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र मानवीय सेवाका क्षेत्रमा अझ सक्रिय भूमिका निर्वाह गर्न क्लबहरूलाई आग्रह गरेका थिए।

बैठकमा लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष मनोज श्रेष्ठ, लायन्स क्लब अफ बागलुङ सिटीकी अध्यक्ष सन्ध्या राजभण्डारी, लायन्स क्लब अफ बागलुङ मुक्तिनाथकी अध्यक्ष सीता राजभण्डारी तथा लायन्स क्लब अफ बागलुङ ब्लुसिपका प्रथम उपाध्यक्ष पारसिंह थापाले आ–आफ्ना क्लबद्वारा हालसम्म सञ्चालन गरिएका सामाजिक सेवामूलक कार्यक्रम र आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए।

उनीहरूले विपन्न वर्गको सहयोग, स्वास्थ्य शिविर, शैक्षिक सहयोग, वातावरण संरक्षण तथा समुदाय विकासका कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी ढंगले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

जोन–१ का जोन चेयरपर्सन गणेश महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ बागलुङ सिटीकी अध्यक्ष सन्ध्या राजभण्डारीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने लायन्स क्लब अफ धौलागिरि बागलुङका अध्यक्ष मनोज श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए।

बैठकले क्लबहरूबीच आपसी सहकार्य, अनुभव आदानप्रदान र सामाजिक सेवाका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै समुदायमा सकारात्मक परिवर्तन ल्याउने साझा प्रतिबद्धता व्यक्त गरेको छ।