
बागलुङ, असार २६
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बागलुङका यातायात व्यवसायी र प्रहरीबीच सुरक्षित, अनुशासित तथा यात्रुमैत्री यातायात सेवा सञ्चालनका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंसँग भएको अन्तरक्रियामा यातायात व्यवसायीहरूले सडक सुरक्षा, ट्राफिक नियमको पालना तथा यात्रुको सेवामा थप जिम्मेवार बन्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल प्रहरीले सञ्चालन गर्दै आएको समुदाय–प्रहरी साझेदारी कार्यक्रमले नागरिक र सुरक्षा निकायबीच सहकार्य बढाउँदै सामाजिक उत्तरदायित्वलाई बलियो बनाउने उद्देश्य राखेको छ।
अन्तरक्रियाका क्रममा व्यवसायीहरूले प्रचलित कानुन तथा ट्राफिक नियमको पूर्ण पालना गर्दै सवारी साधन सुरक्षित रूपमा सञ्चालन गर्ने, चालक तथा सहचालकलाई नियमित रूपमा सचेतनामूलक तालिम प्रदान गर्ने र ट्राफिक अनुशासन कायम राख्न सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।

त्यसैगरी जथाभावी पार्किङ नगर्ने, मादक पदार्थ वा लागूऔषध सेवन गरी सवारी साधन नचलाउने तथा त्यस्ता गतिविधिलाई निरुत्साहित गर्ने, यात्रुप्रति शिष्ट व्यवहार गर्दै गुणस्तरीय सेवा प्रवाह गर्ने विषयमा समेत सहमति भएको छ।
व्यवसायीहरूले क्षमताभन्दा बढी यात्रु तथा मालसामान ओसारपसार नगर्ने, सवारी साधनको नियमित प्राविधिक परीक्षण तथा मर्मतसम्भार गर्ने, दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना अभिवृद्धि गर्ने र सुरक्षित यातायात प्रणाली निर्माणमा प्रहरी तथा समुदायसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यस्तै कुनै पनि शंकास्पद, गैरकानुनी वा आपराधिक गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउने तथा सुरक्षित, अनुशासित र जिम्मेवार यातायात सेवा प्रवाहमार्फत सभ्य र सुरक्षित समाज निर्माणमा योगदान पुर्याउने अठोट समेत व्यवसायीहरूले व्यक्त गरेका छन्।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले “सुरक्षित यात्रा हाम्रो दायित्व, ट्राफिक नियमको पालना र अनुशासित यातायात सेवा हाम्रो प्रतिबद्धता” भन्ने सामूहिक प्रतिबद्धता दोहोर्याएका थिए।
स्थानीय स्तरमा यातायात व्यवसायी, प्रहरी र समुदायबीचको सहकार्यले सडक दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन सुधार तथा यात्रुको सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।










