सडक सुरक्षामा कडाइ : लागूऔषध सेवन गर्ने चालक प्रहरी नियन्त्रणमा

-


     हिडन खबर    
     असार २६ गते २०८३ मा प्रकाशित



बागलुङ, असार २६

बागलुङमा लागुऔषध सेवन गरी सवारी साधन चलाउने चार जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बागलुङ नगरपालिका–४ मालढुंगास्थित मध्यपहाडी लोकमार्गमा सवारी चेकजाँचका क्रममा लागुऔषध सेवन गरेर सवारी चलाएको पुष्टि भएपछि चार चालकलाई नियन्त्रणमा लिइएको हो।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईं तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायब निरीक्षक मिनबहादुर कुँवरसहितको संयुक्त टोलीले सवारी साधन जाँच गर्ने क्रममा चालकहरूको परीक्षण गरेको थियो।

परीक्षणका क्रममा ईभी चालक प्रेमबहादुर दर्जी, बोलेरो (जिप) चालक दीपक थापा, मिनी ट्रक चालक उत्तम नेपाली र बोलेरो (जिप) चालक दिपेश घर्तीले लागुऔषध सेवन गरी सवारी चलाएको भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार लागूऔषध सेवन गरी सवारी चलाउने कार्यले सडक सुरक्षामा गम्भीर असर पार्ने भएकाले कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको छ। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।