
काठमाडौं । लोक तथा दोहोरी संगीतका लोकप्रिय गायक विष्णु खत्री ‘ईन्द्रेणी कार्यक्रम’द्वारा प्रदान गरिने प्रतिष्ठित ईन्द्रेणी स्रष्टा सम्मान बाट सम्मानित भएका छन्।
सम्मान ग्रहण गर्दै उनले यसलाई आफ्नो सांगीतिक यात्राको महत्वपूर्ण उपलब्धि भन्दै ईन्द्रेणी परिवारप्रति हार्दिक कृतज्ञता व्यक्त गरे।गायक खत्रीले कार्यक्रमका सञ्चालक तथा समाजसेवी कलाकार कृष्ण कंडेललाई विशेष धन्यवाद दिँदै ईन्द्रेणीले नेपाली संगीत, कला र मानव सेवालाई एउटै मञ्चमा जोड्ने अभियान सञ्चालन गरिरहेको उल्लेख गरे।
सम्मान समारोहकै क्रममा उनले लोकप्रिय गायिका मनमाया वाईवासँग नयाँ दोहोरी गीत रेकर्ड गरेका छन्, जुन ईन्द्रेणीको आगामी एपिसोडमार्फत दर्शक माझ प्रस्तुत हुनेछ। कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठसँग एउटै मञ्च साझा गर्ने अवसर पनि उनको लागि विशेष स्मरणीय बनेको छ।
यसै अवसरमा बोनम्यारो क्यान्सरबाट पीडित बालिका आर्या गिरीको उपचार सहयोग अभियानमा सहभागी हुँदै गायक खत्रीले ईन्द्रेणी टिमसँग मिलेर आर्थिक सहयोग प्रदान गरे।उनले आर्याको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस्ता मानवीय अभियानमा सबैले हातेमालो गर्नुपर्ने सन्देश दिए।
संगीत, सम्मान र समाजसेवाको त्रिवेणी बनेको यस विशेष कार्यक्रममा गायक विष्णु खत्रीको सक्रिय सहभागिताले दर्शक तथा शुभेच्छुकबाट प्रशंसा बटुलेको छ।









