
बागलुङ, असार २२
अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के, नेपालले नयाँ लायन वर्ष २०२६–२७ को सुरुवातमै ऐतिहासिक सफलता हासिल गरेको छ। कार्यकाल प्रारम्भ भएको केही दिनभित्रै निर्धारित लक्ष्यभन्दा बढी नयाँ क्लब स्थापना गर्दै डिष्ट्रिक्ट ३२५ के विश्वमै सबैभन्दा धेरै क्लब विस्तार गर्ने डिष्ट्रिक्ट बन्न सफल भएको जनाएको छ।
डिष्ट्रिक्ट गभर्नर रमेश अधिकारी ले सार्वजनिक गरेको धन्यवाद तथा आभार सन्देशमा लायन वर्ष २०२६–२७ का लागि तय गरिएको २९ वटा नयाँ क्लब स्थापनाको लक्ष्य पार गर्दै ३१ वटा नयाँ क्लब चार्टर गर्न सफल भएको उल्लेख गरिएको छ।यस उपलब्धिसँगै डिष्ट्रिक्ट ३२५ के विश्वकै नम्बर–१ क्लब विस्तार गर्ने डिष्ट्रिक्टको रूपमा स्थापित भएको दाबी गरिएको छ।
गभर्नर अधिकारीले यो सफलता कुनै एक व्यक्तिको प्रयासबाट सम्भव नभएको उल्लेख गर्दै सम्पूर्ण क्लब, क्लब अध्यक्ष, चार्टर सदस्य, पदाधिकारी तथा लायन्स परिवारको एकता, समर्पण र सक्रियताको परिणाम भएको बताएका छन्। साथै पूर्व अन्तर्राष्ट्रिय निर्देशक तथा वरिष्ठ नेतृत्वको मार्गदर्शनले अभियानलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन्।
उनले विश्वको पहिलो स्थान हासिल गर्नु अन्तिम लक्ष्य नभई सेवाको नयाँ यात्राको सुरुवात भएको बताउँदै आगामी दिनमा मानव सेवा, नेतृत्व विकास, सदस्यता विस्तार तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्।
लायन्स इन्टरनेशनल विश्वका सबैभन्दा ठूलो स्वयंसेवी सामाजिक संस्थामध्ये एक हो। नेपालमा पनि यस संस्थाले स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, विपद् व्यवस्थापन, रक्तदान तथा मानवीय सेवाका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
डिष्ट्रिक्ट ३२५ केले छोटो समयमै प्राप्त गरेको यो उपलब्धिलाई नेपाली लायन्स इतिहासकै महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यस सफलताले आगामी दिनमा अझ प्रभावकारी सेवा अभियान सञ्चालन गर्न प्रेरणा मिल्ने विश्वास लिइएको छ।










