
काठमाडौं /सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्वारा आयोजित ‘संगीत र प्रविधि’ विषयक अन्तरक्रिया कार्यक्रम राजधानीमा सम्पन्न भएको छ।
कार्यक्रममा वरिष्ठ प्रविधि विज्ञ राजेन्द्र अर्यालले संगीत, अडियो तथा भिडियो निर्माणमा प्रयोग हुने प्रविधि, यसको उपयोगिता तथा बदलिँदो प्रविधिसँग अद्यावधिक रहन सक्ने उपायबारे जानकारीमूलक प्रस्तुति दिएका थिए।
कार्यक्रममा सहभागी स्रष्टा, सर्जक, कलाकार तथा अडियो–भिडियो क्षेत्रमा संलग्न व्यक्तिहरूले प्रविधिसम्बन्धी नयाँ ज्ञान र अनुभव हासिल गर्ने अवसर पाएका थिए।परिषद्का अनुसार सिक्ने र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यसपटकको कार्यक्रम परम्परागत शैलीभन्दा फरक ढंगले सञ्चालन गरिएको थियो। प्रमुख अतिथि, विशेष अतिथि, लामो भाषण वा खादामाला जस्ता औपचारिकता वर्जित गर्दै, सहभागीहरूले हातमा कलम र कापी लिएर विज्ञको प्रस्तुति सुन्ने तथा आवश्यक विषय टिपोट गर्ने वातावरण सिर्जना गरिएको थियो।
परिषद्ले यस्ता कार्यक्रमले समय र खर्च दुवैको बचत गर्दै ज्ञान आदानप्रदानलाई प्राथमिकता दिने विश्वास व्यक्त गरेको छ। साथै, भाषणबाजी र खादामाला संस्कृतिलाई निरुत्साहित गर्दै सादगी, मितव्ययिता तथा प्रभावकारी कार्यक्रम सञ्चालनको अभ्यासलाई आगामी दिनमा निरन्तरता दिने जनाएको छ।











