
पोखरा, असार २० — गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री यशोदा रिजालले उद्यमी–व्यवसायी केवल करदाता मात्र नभई राष्ट्र निर्माण र आर्थिक समृद्धिका मेरुदण्ड भएको बताएकी छन्।
शनिबार आयोजित लेखनाथ उद्योग वाणिज्य संघको ३०औँ स्थापना दिवस तथा २९औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री रिजालले उद्योग, व्यापार र उद्यमशीलताको विकासबिना प्रदेशको आर्थिक समृद्धि सम्भव नभएको बताइन्। उनले निजी क्षेत्रसँग सहकार्य गर्दै उद्योग–व्यवसायमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन्।
मन्त्री रिजालले प्रदेश सरकारले चाँडै उद्योग तथा वाणिज्य नीति ल्याउने तयारी गरिरहेको जानकारी दिँदै नीति निर्माणमा निजी क्षेत्रको सुझाव समेटिने बताइन्। लगानीको सुरक्षा, डिजिटल प्रविधि, स्टार्टअप प्रवर्द्धन, महिला तथा युवा उद्यमशीलता, कृषि र पर्यटनको अन्तरसम्बन्ध तथा हरित उद्योगलाई प्राथमिकता दिइने उनको भनाइ थियो।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले लगानीमैत्री वातावरण र व्यवसायीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग आग्रह गरिन्। उद्योगी–व्यवसायीहरू पलायन हुन बाध्य हुने अवस्था अन्त्य गर्नुपर्ने उनले बताइन्।
सो अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। ‘चन्द्रलक्ष्मी ज्येष्ठ नागरिक पुरस्कार–२०८३’ एपीवान टेलिभिजनका पत्रकार टिकाराम यात्रीलाई प्रदान गर्ने घोषणा गरिएको छ। त्यस्तै लेखनाथ आर्थिक पत्रकारिता पुरस्कार–२०८३ राष्ट्रिय दैनिकका प्रधान सम्पादक भरत कोइरालालाई प्रदान गरिएको छ।
स्थापना दिवसका अवसरमा संघले खेलकुद प्रतियोगिता, सामाजिक सेवा तथा खाद्यान्न सहयोगलगायतका कार्यक्रमसमेत सम्पन्न गरेको जनाएको छ।










