लायन्स क्लब अफ पोखरा चौतारीद्वारा गोकुलधामका गाईलाई पशुआहार सहयोग

-


     हिड्न खबरदाता     
     असार १८ गते २०८३ मा प्रकाशित


पोखरा, १८ असार
लायन्स वर्ष २०२६–०२७ को शुभारम्भको अवसरमा लायन्स क्लब अफ पोखरा चौतारीले एक उदाहरणीय सामाजिक कार्य सम्पन्न गरेको छ।

क्लबले आफ्नो नयाँ कार्यकालको पहिलो दिन पोखरा–१४, बाच्छेबुडुवामा सञ्चालित पुष्करिणी परोपकार गोकुलधाममा रहेका गाईहरूका लागि पशुआहार तथा खाद्यान्न सामग्री वितरण गरेको हो।

एक समारोहका बीच क्लबका अध्यक्ष तथा पूर्व बैंकर गोविन्दप्रसाद ढकालले राष्ट्रिय परोपकार महासंघ नेपालका अध्यक्ष एवं गोकुलधामका प्रमुख पण्डित कमलनयन गौतमलाई सहयोग सामग्री हस्तान्तरण गर्नुभयो। अध्यक्ष ढकालले नयाँ लायन्स वर्षको प्रारम्भ रचनात्मक तथा परोपकारी कार्यबाट गर्नका लागि यो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

गोकुलधाममा हाल २ सयभन्दा बढी गाईहरूको संरक्षण भइरहेको छ। पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा अलपत्र र छाडा अवस्थामा रहेका गाईहरूलाई एकत्रित गरी संरक्षण गर्ने कार्य विगतदेखि निरन्तर भइरहेको अध्यक्ष गौतमले बताउनुभयो।

कार्यक्रममा बोल्दै लायन्सका डिस्ट्रिक्ट ट्रेजरर पुरुषोत्तम पराजुलीले लायन्स क्लबले स्वास्थ्य र शिक्षा क्षेत्रमा मात्र नभई पशुचौपायाको कल्याण र संरक्षणमा पनि उत्तिकै चासो दिँदै सहयोग पुर्‍याएको स्पष्ट पार्नुभयो। त्यस्तै, कार्यक्रम संयोजक राजेन्द्रबहादुर कार्कीले राहत तथा सहयोग कार्यक्रमको उद्देश्य र महत्त्वबारे प्रकाश पार्नुभयो।