
लेखनाथ, १८ असार। लेखनाथ उद्योग वाणिज्य संघमा महिला जनप्रतिनिधि तथा उद्यमीहरूका लागि नेतृत्व सीप विकाससम्बन्धी तीन दिने प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न भएको छ। असार १६ गतेदेखि सुरु भएको तालिम असार १८ गते समापन गरिएको हो।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरको आयोजनामा, पोखरा महानगरपालिका अन्तर्गतको व्यवसाय प्रवर्द्धन केन्द्र र लेखनाथ उद्योग वाणिज्य संघको समन्वयमा तालिम सञ्चालन गरिएको थियो। कार्यक्रममा महानगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधि तथा स्थानीय महिला उद्यमीहरूको सहभागिता रहेको थियो।
समापन समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका कार्यकारी निर्देशक जयकृष्ण श्रेष्ठले नेतृत्व र उद्यमशीलता एक–अर्कासँग गासिएको विषय भएको उल्लेख गर्दै उद्यमी बन्न सक्नु नै ठूलो उपलब्धि हुने बताए। उनले प्रशिक्षणले सहभागीहरूलाई सिकेका कुरा व्यवहारमा उतार्न प्रेरणा दिने अपेक्षा व्यक्त गरे। सिकेका कुरा तत्काल प्रयोगमा ल्याउँदै थप अनुभव हासिल गर्ने प्रक्रियालाई “लर्निङ बाइ डुइङ” भनिने उल्लेख गर्दै उनले महानगरपालिका र संघले उपलब्ध गराएको समय तथा स्रोतको सदुपयोग सहभागीहरूको व्यवहारिक परिवर्तनबाट प्रमाणित हुने बताए।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले सकारात्मक सोच र विचारसहित अगाडि बढ्न सहभागीहरूलाई आग्रह गरिन्।समस्या उत्पन्न भए संघमार्फत समाधान खोज्न सकिने बताउँदै उनले संघले नीतिगत स्तरमै पैरवी गरेर परिवर्तन ल्याएका उदाहरण प्रस्तुत गरिन्।
त्यसैगरी वडा सदस्य उमा परियारले सहभागीहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै तालिम उपयोगी र फलदायी भएको बताइन्।तालिममा सञ्चारकर्मी दिपेन्द्र श्रेष्ठ, सरिता तिमिल्सिना पंगेनी, संघकी अध्यक्ष जानुका पराजुली, प्रथम उपाध्यक्ष विक्रम कर्माचार्य, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका हेमराज थापा लगायतले प्रशिक्षण दिएका थिए।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष गोपीचन्द्र बाँस्तोलाले धन्यवाद ज्ञापन गरे भने सञ्चालन संघकी उप–महासचिव गंगा मल्लले गरेकी थिइन्।









