कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

-


     हिड्न खबरदाता     
     असार १८ गते २०८३ मा प्रकाशित


असार १८, पोखरा

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ।

पूर्ण खोप सुनिश्चितता निर्देशिका, २०७१ अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी बिहीबार जिल्ला समन्वय समिति कास्कीमा विशेष समारोहका बीच सो घोषणा गरिएको हो।

यसअघि कास्कीका सबै पाँच पालिकाहरू पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा भइसकेका थिए।उक्त अवसरमा प्रमुख लिलाधर पौडेलले अभियानलाई सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सबै पक्षप्रति आभार व्यक्त गर्दै, कुनै पनि अभियान सफल बनाउन जनप्रतिनिधि तथा आम नागरिकको सक्रिय सहभागिता अपरिहार्य हुने उल्लेख गर्नुभयो।

स्वस्थ नागरिक नै भविष्यको समृद्ध नेपालको मुख्य आधार भएको भन्दै उहाँले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि खोप नै सबैभन्दा प्रभावकारी उपाय भएको धारणा व्यक्त गर्नुभयो।

सो अवसरमा स्वास्थ्य मन्त्रालयका सचिव डा. युबानिधि बसौला, अतिरिक्त सचिव खिमबहादुर खड्का, जिल्ला समन्वय समिति कास्कीकी उपप्रमुख सरिता माल, जिल्ला खोप समन्वय समिति सदस्य–सचिव मधुरजी ढकाल, जिल्ला समन्वय अधिकारी नवराज बराललगायतले आ–आफ्नो भनाइ राख्नुभएको थियो।

कार्यक्रममा अभियान सफल पार्न योगदान पुर्‍याउने तथा सेवाबाट अवकाश प्राप्त महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरिएको थियो।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक लिलाधर पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।