
आसन्न वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि बागलुङमा नमुना मतदान गरिएको छ ।
शनिबार जिल्ला निर्वाचन कार्यालय बागलुङले बदर मत कम गर्न जिल्ला सदरमुकाममा रहेको धौलागिरी बहुमुखी क्याम्पसको प्राङ्गणमा नमुना मतदान गरिएको हो ।
जिल्लामा खटिने निर्वाचन अधिकृत र साहयक निर्वाचन अधिकृतहरुलाई प्रशिक्षण पश्चात् क्याम्पसमा जिल्लामा क्रियासिल सञ्चारकर्मीहरु सहित राजनैतिक दलका प्रतिनिधिहरुलाई नमुना मतदान गरिएको हो ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सात ठाँउमा छाप लगाउनु पर्ने भएकाले मत बदर कम गर्न नमुना मतदान गरिएको बागलुङ जिल्लाका जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले बताउनुभयो ।
मतदाता शिक्षा कार्यक्रम भने निर्वाचनको एक दिन अघि मात्र दिइने बताइएको छ ।
४ नगरपालिका र ६ गाउँपालिका गरी १० वटा स्थानीय तह रहेको जिल्लामा चुनावको तयारीका लागि सुरक्षा व्यवस्था सहित सबै तयारी तीव्र पारिएको बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बताउनुभयो ।
जिल्लामा कूल १ लाख ९३ हजार ६ सय २५ मतदाता मध्य ९९ हजार ७ सय २८ महिला र ९३ हजार ८ सय ९७ पुरुष रहेको जिल्ला निर्वाचन अधिकारी यज्ञ प्रसाद रिजालले जानकारी दिनुभयो
बागलुङ जिल्लामा मतदानका लागि १ सय ३ मतदान स्थल र २ सय ३० मतदान केन्द्र तोकिएको रिजालले बताउनुभयो ।












