जिल्ला समन्वय समिति कास्कीद्वारा प्रदेश सरकारका आयोजनाको अनुगमन

-


     हिडन खबर    
     असार १७ गते २०८३ मा प्रकाशित


पोखरा, असार १७

जिल्ला समन्वय समिति कास्कीले गण्डकी प्रदेश सरकारअन्तर्गत कास्की जिल्लामा सञ्चालित विभिन्न विकास आयोजनाको अनुगमन गरेको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको नेतृत्वमा उक्त अनुगमन गरिएको हो।

अनुगमन गरिएका आयोजनामध्ये पोखरा–३३ स्थित तल्लो खैरेनी, घोक्रेनी, शिवबस्ती हुँदै गाईगौंडासम्मको बहुवर्षीय सडक आयोजना तथा पोखरा–३१ स्थित स्याङ्खुदी भञ्ज्याङसम्मको ‘सात ताल जोड्ने लिंक रोड’ सडक आयोजना रहेका छन्।

तल्लो खैरेनी–गाईगौंडा सडक आयोजनाको लागत अनुमान ५ करोड रुपैयाँ रहेको छ भने सात ताल लिंक रोड आयोजनाको लागत २५ करोड रुपैयाँ रहेको छ।

अनुगमन टोलीमा जिल्ला समन्वय समिति सदस्य सीता देवी विक, हर्क गुरुङ, राजु अधिकारी, जिल्ला समन्वय अधिकारी नवराज बराल, शाखा अधिकृत लक्षु शर्मा, गण्डकी प्रदेश पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख कृष्ण आचार्य, प्राविधिक इन्जिनियर तथा स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।

अनुगमनका क्रममा प्रमुख पौडेलले निर्माण कार्यमा गुणस्तर तथा निर्धारित मापदण्डको पूर्ण पालना गर्न आग्रह गर्दै दिगो विकासका योजनालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले विकास निर्माणमा हुने अनियमितताप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने उल्लेख गर्दै स्थानीय उपभोक्ता तथा सरोकारवालालाई समेत सचेत र जिम्मेवार बन्न आग्रह गर्नुभयो।

प्रमुख पौडेलले केही आयोजनामा निर्धारित समयसीमा र गुणस्तरका विषयमा कमजोरी देखिएको भन्दै निर्माण व्यवसायीलाई तत्काल सुधारका लागि आवश्यक पहल गर्न निर्देशन दिनुभएको थियो।