
काठमाडौं, असार १७ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको कमी तथा भारतीय आयल कर्पोरेशन (आईओसी)बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा निगमले नयाँ खुद्रा बिक्री मूल्य निर्धारण गरेको हो।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ। नयाँ मूल्य असार १७ गते बुधबार राति १२:०१ बजेदेखि लागू हुनेछ।
नयाँ मूल्यअनुसार पहिलो वर्गका क्षेत्रमा पेट्रोल प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९६ रुपैयाँ र तेस्रो वर्गमा १९७ रुपैयाँ कायम गरिएको छ। यस्तै, डिजेल/मट्टितेल पहिलो वर्गमा १९२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९४ रुपैयाँ र तेस्रो वर्गमा १९५ रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको निगमले जनाएको छ।










