
काठमाडौं, असार १५ । निर्देशक बलिराम चौहानको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ मा अभिनेता रियान गिरी अनुबन्ध भएका छन्।
निर्माण टिमले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको अवसर पारेर सोमबार रियानलाई चलचित्रमा अनुबन्ध गरिएको जानकारी सार्वजनिक गरेको हो।
रियान गिरी चलचित्र ‘होस्टेल–३’ मार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका कलाकार हुन्। अभिनयसँगै उनी गायन क्षेत्रमा पनि सक्रिय छन् र विभिन्न गीतमा आफ्नो स्वर दिइसकेका छन्।
निर्देशक बलिराम चौहानले रियान चलचित्रको मुख्य भूमिकामध्ये एकमा रहने जानकारी दिँदै भने, “रियानलाई हामीले हाम्रो चलचित्रका लागि अनुबन्ध गरेका छौं। पात्रको आवश्यकता र कथासँग उनको उपयुक्ततालाई ध्यानमा राखेर चयन गरेका हौं।”
गत वर्ष प्रदर्शन भएको चलचित्र ‘द ब्ल्यू लाइट’ मार्फत निर्देशनमा डेब्यु गरेका चौहान अहिले नयाँ चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ को तयारीमा जुटेका छन्। यसअघि उनले थिम पोस्टरसहित चलचित्रको शीर्षक सार्वजनिक गर्दै निर्माण घोषणा गरेका थिए।
हाल कलाकार तथा प्राविधिक टोली चयनको काम जारी रहेको निर्देशक चौहानले बताए। “अन्य कलाकार र प्राविधिकको टुंगो लगाउने क्रम जारी छ। केहीसँग छलफल भइरहेको छ,” उनले भने।
स्काइफल पिक्चर्सको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ को नारा ‘हरेक युवाको कथा’ रहेको छ। यसले समकालीन युवा पुस्ताका भावना, संघर्ष र सम्बन्धका विविध पक्षलाई प्रस्तुत गर्ने संकेत गरेको छ।
युवा पुस्तामाझ प्रचलित शब्द ‘ल्याङ्ग ल्याङ्ग’ को अर्थ सामान्यतः किचकिच गर्नु, एउटै विषयमा बारम्बार दबाब दिनु वा अनावश्यक तनाव सिर्जना गर्नु भन्ने बुझिन्छ।
‘पालना गर्ने वाचा र बाँच्ने उद्देश्य : यो जीवनका लागि यति मात्र हो’ भन्ने वाक्यसहित सार्वजनिक गरिएको थिम पोस्टरले प्रेममा धोका खाएको एक युवाको भावनात्मक यात्रालाई केन्द्रमा राखिएको कथावस्तुको संकेत गरेको छ।
चलचित्रको कथा बलिराम चौहान र उपश्री खतिवडाले संयुक्त रूपमा लेखेका हुन्।
निर्देशक चौहानको अघिल्लो चलचित्र ‘द ब्ल्यू लाइट’ ले समीक्षकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो। तर निर्वाचनको माहोलका कारण चलचित्र प्रदर्शनको तेस्रो दिनमै हलबाट हटाइएको थियो।










