निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा १३१ जनाले लिए सेवा, औषधि वितरण

-


     राजेशचन्द्र राजभण्डारी     
     असार १५ गते २०८३ मा प्रकाशित


बागलुङ, असार १५

“ज्येष्ठ नागरिकको स्वास्थ्यमा ध्यान, परिवारको सम्मान” भन्ने मूल नारासहित आयोजित शिविरमा १३१ जना ज्येष्ठ नागरिकले स्वास्थ्य सेवा लिएका छन् । शिविरमा सहभागीहरूको स्वास्थ्य परीक्षणसँगै सुगर (मधुमेह) परीक्षणसमेत गरिएको थियो।

बागलुङ नगरपालिका–३ पुरानो बर्सपार्कस्थित सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र लायन्स क्लब अफ आवाज र महिला हित सहकारी संस्थाको आयोजनामा धाैलागिरि आयुर्वेद अस्पताल बागलुङको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर आयोजना गरिएको थियो ।

शिविरमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था जाँच गरी आवश्यक परामर्श प्रदान गरेका थिए। परीक्षणका क्रममा आवश्यक देखिएका बिरामीहरूलाई निःशुल्क औषधि समेत वितरण गरिएको धाैलागिरि आयुर्वेद अस्पताल बागलुङका वैध निरिक्षक एकराज ढुंगानाले बताए ।

ज्येष्ठ नागरिकहरूको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने तथा नियमित स्वास्थ्य परीक्षणमा पहुँच बढाउने उद्देश्यले शिविर सञ्चालन गरिएको सराेकारवाले बताए ।
प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र आवश्यक उपचार तथा परामर्श प्राप्त गर्न महत्वपूर्ण योगदान पुर्‍याएको सेवाग्राहीहरूले बताए।

कार्यक्रममा स्थानीय ज्येष्ठ नागरिकहरूको उत्साहजनक सहभागिता रहेको धाैलागिरि आयुर्वेद अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर कुँवरले बताए ।

बागलुङ सदरमुकाममा रहेको धाैलागिरि आयुर्वेद अस्पताल विभिन्न राेगकाे २३ प्रकारको आयुर्वेद आ‌ैषधी निशुल्क रूपमा वितरण गर्दै आएपछि यतिबेला विभिन्न कारणले बिरामी परेका ब्यक्तिहरू अस्पतालमा जानक्रम बढ्दै गइरहेको छ ।