
असार १२, पोखरा
पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासा फाउन्डेसन र एमसीसीको सहयोगमा पोखरामा सम्पन्न छैटौं ‘ब्रेकिङ बाउन्ड्रीज’ छात्र–छात्रा अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगितामा छात्रतर्फ कालिका माध्यमिक विद्यालय र छात्रातर्फ बाराही माध्यमिक विद्यालयले उपाधि जितेका छन्।
पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा कालिकाले जनप्रिय माध्यमिक विद्यालयलाई तथा बाराहीले कालिका माध्यमिक विद्यालयलाई पराजित गर्दै यस संस्करणको च्याम्पियन बन्न सफल भएका हुन्।

प्रतियोगिताका विजेता खेलाडीहरूले ६० प्रतिशत छात्रवृत्तिसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेता टोलीले ४० प्रतिशत छात्रवृत्तिसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। पुरस्कार वितरण कार्यक्रममा कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष दीपेन्द्र प्रताप चन्द प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा किडासा प्रतिनिधि सविन उदास, बसन्त पराजुली, सञ्जय आत्रेय, पोखरा महानगर क्रिकेट समितिका पूर्वअध्यक्ष वीरेन्द्र पुन तथा क्यानका पूर्व सदस्य ऋषिराम गौतमलगायतले पुरस्कार वितरण गरेका थिए।

छात्रतर्फ कालिकाका राज परियार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। नवप्रभावित खेलाडीको उपाधि अनिश रावतले जिते भने उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानको उपाधि पनि उनले नै हात पारे। छात्रातर्फ बाराहीकी हिरा घर्ती मगर सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। कालिकाकी वर्षा पौडेल उत्कृष्ट बलर तथा उत्कृष्ट ब्याटर घोषित भइन्।

छात्रतर्फको फाइनल
टस जितेर ब्याटिङ रोजेको कालिकाले निर्धारित १७ ओभरमा ९ विकेट गुमाउँदै ९९ रन बनाएको थियो। कालिकाका सुसान्त क्षेत्रीले २१ रनको योगदान दिए। जनप्रियका समिर कुमारले ५ तथा अमिर भट्टराईले २ विकेट लिए।
जवाफमा जनप्रियका ब्याट्सम्यानहरू चल्न नसक्दा टोली २९ रनमै समेटियो र कालिका ७० रनको फराकिलो अन्तरले विजयी बन्यो। जनप्रियका सन्देश स्याङ्ताङले १२ रन बनाए। फाइनल खेलमा ‘म्यान अफ द म्याच’ बनेका कालिकाका बलर सुमन घर्तीले ४ विकेट लिए भने राज परियारले ३ विकेट हात पारे।

छात्रातर्फको फाइनल
छात्रातर्फ बाराहीले कालिकालाई १२ रनले पराजित गर्दै उपाधि जित्यो। टस हारेर पहिले ब्याटिङ गरेको बाराही ६७ रनमा अलआउट भएको थियो। बाराहीकी सुस्मिता श्रेष्ठले सर्वाधिक १६ रन बनाइन्। कालिकाका लागि चुनिसा मगरले ४ तथा वर्षा पौडेलले ३ विकेट लिइन्।
जितका लागि ६८ रनको लक्ष्य पछ्याएको कालिकाले पूरा ओभर खेल्दै ८ विकेटको क्षतिमा ५५ रन मात्र बनाउन सक्यो। कालिकाकी वर्षा पौडेलले १३ रन बनाइन्। ‘प्लेयर अफ द म्याच’ बनेकी बाराहीकी हिरा घर्तीले २ विकेट लिइन् भने अर्की बलर कुसुम राईले पनि २ विकेट हात पारिन्।
एक सातासम्म सञ्चालन भएको प्रतियोगितामा छात्रतर्फ ३२ तथा छात्रातर्फ १६ टोलीको सहभागिता रहेको थियो।
समापन समारोहका सभापति तथा आयोजक समितिका अध्यक्ष बविन कुँवरले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगीप्रति धन्यवाद व्यक्त गरे। उनका अनुसार छात्रवृत्ति रकमका लागि ब्रिटिस गोर्खाली क्रिकेट लिगका गमबहादुर गुरुङले १ लाख रुपैयाँ, जीएनजी जीआईएफसी क्रिकेट क्लब लन्डनका रपिन्द्र चिमाले ५१ हजार रुपैयाँ, अष्ट्रेलियास्थित शैलेन्द्र क्षेत्री र रञ्जु पराजुलीले १५ हजार रुपैयाँ तथा वन डे क्रिकेट एकेडेमी काठमाडौंका सशी क्षेत्री र पुरुषोत्तम बनियाँले १० हजार रुपैयाँ सहयोग उपलब्ध गराएका थिए।
कार्यक्रम सञ्चालन क्रिकेट खेलाडी सन्देश शाही ठाकुरीले गरेका थिए।











