
काठमाडौं । जीवन सिंहको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘हन्टर’ आगामी असोज ९ गते (सेप्टेम्बर २५) देखि देशभरका सिनेमाघरमा प्रदर्शन हुने भएको छ। निर्माण पक्षले एक प्रभावशाली ‘फेस-अफ’ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।
यस चलचित्रमार्फत सिंहले निर्देशनमा डेब्यु गर्न लागेका छन्।सार्वजनिक पोस्टरले कथावस्तुबारे रोचक संकेत दिएको छ।
ट्राइडेन्ट कन्सेप्टले तयार पारेको पोस्टरमा दुई मुख्य पात्र — अरुण क्षेत्री र प्रकाश शाह — आमनेसामने देखिएका छन।
शाहको आँखामा झल्किएको तीखो आक्रोश र क्षेत्रीको अनुहारमा प्रकट भएको प्रतिशोधले उनीहरूबीच भीषण टक्कर हुने संकेत गर्छ।
पोस्टरले यो केवल सामान्य झगडा नभई ‘हन्टर’ र ‘सिकार’ बीचको जीवन-मरणको खेल भएको स्पष्ट पार्छ।पोस्टरको तल्लो भागमा भने फरक दृश्य छ, जहाँ अभिनेता अरुण क्षेत्री र अभिनेत्री सुप्रज्ञा शर्मा शान्त र रोमान्टिक मुडमा देखिएका छन् ।
यसले चलचित्रमा एक्सनसँगै गहिरो प्रेमकथा पनि बुनिएको छ भन्ने बुझाउँछ। सम्भवतः यही प्रेम नै पछि गएर ठूलो द्वन्द्वको कारण बन्नेछ।निर्देशक सिंहका अनुसार ‘हन्टर’ को कथा कुनै काल्पनिक संसारको नभई समाजकै वास्तविक पात्रहरूबाट प्रभावित छ।
चलचित्रको निर्माणमा ट्राइडेन्ट कन्सेप्टको सहकार्य छ। ममता सिंह, गोविन्द राज र राज ए. भट्ट निर्माता हुन् भने सह-निर्मातामा मनिष चन्द, युना शाही र सन्तोष आस्ना पाल छन्।
कार्यकारी निर्माता रोयल भीमसेन (भीमसेन शाही) हुन्।चलचित्रमा अरुण क्षेत्री, प्रकाश शाह र सुप्रज्ञा शर्मासँगै गरिमा शर्मा, सरोज खनाल, रमेश बुढाथोकी, रुजा राउत, रोशनी दाहाल, गीता अधिकारी, सुरज भण्डारी, टेकराज शर्मा, लालबहादुर थापा लगायतका कलाकारको अभिनय रहेको ।
सिंहकै सम्पादनमा बनेको चलचित्रमा कृष्ण थापाको डीओपी, शुक्रराज शाहको द्वन्द्व निर्देशन, विक्रम स्वाँर र सञ्जय खिमजिमको कोरियोग्राफी, बाबुल गिरी, चक्र बम र महेश ताम्राकारको संगीत रहेको छ।दसैंको पूर्वसन्ध्यामा प्रदर्शन हुन लागेको यो चलचित्रले ‘मास अडियन्स’ लाई हलसम्म तान्ने अपेक्षा गरिएको छ।
एक्सन, इमोसन र ड्रामाको मिश्रण रहेको ‘हन्टर’ ले पोस्टरमार्फत सिर्जना गरेको ‘हाइप’ ले फिल्म क्षेत्रमा सकारात्मक चर्चा सुरु गराएको छ।चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्नेछ।









