विद्यामन्दिर माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा श्रीजय श्रेष्ठ सर्वसम्मत

-


     राजेशचन्द्र राजभण्डारी     
     असार १० गते २०८३ मा प्रकाशित


बागलुङ ।असार १०

विद्यामन्दिर माध्यमिक विद्यालयको मंगलबार सम्पन्न अभिभावक भेलाले अभिभावकको तर्फबाट विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा श्रीजय श्रेष्ठलाई सर्वसम्मत रूपमा चयन गरेको छ।समितिका सदस्यहरूमा लक्ष्मण, मनु थापा, कमला क्षेत्री जिसी तथा अनुज श्रेष्ठ चयन भएका छन्।

विद्यालय व्यवस्थापन समितिको सदस्य–सचिवमा प्रधानाध्यापक छवि रमण रेग्मी रहेका छन् भने बागलुङ नगरपालिका–३ का वडा अध्यक्ष सनि केसी सदस्य रहेका विद्यालयका सहायक मुकुन्द प्रसाद शर्माले जानकारी दिनुभयो।

नवनिर्वाचित अध्यक्ष श्रीजय श्रेष्ठले विद्यार्थीको सिकाइ उपलब्धि, शैक्षिक नतिजा तथा विद्यालयको संस्थागत विकासका लागि सबै सरोकारवालासँग सहकार्य गर्दै क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले अध्यक्षता गर्नुभएको थियो।विद्यालयका प्रधानाध्यापक छवि रमण रेग्मीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक भिमप्रसाद गौतमले गर्नुभएको थियो।

१९९७ सालमा स्थापना भएको विद्यामन्दिर माध्यमिक विद्यालयले हालसम्म परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। विद्यालयमा रहेको विद्यार्थीमैत्री वातावरण, गुणस्तरीय शिक्षण–सिकाइ तथा अनुशासित शैक्षिक अभ्यासका कारण उत्कृष्ट नतिजा सम्भव भएको प्रधानाध्यापक रेग्मीले बताउनुभयो।उहाँका अनुसार विद्यालयले शैक्षिक गुणस्तर वृद्धिलाई प्राथमिकतामा राख्दै विद्यार्थीको सर्वाङ्गीण विकासमा निरन्तर जोड दिँदै आएको छ।