GAT सम्मेलनबाट फर्किएको लायन्स ३२५ के नेपालको टोलीलाई भव्य स्वागत

-


     हिड्न खबरदाता     
     असार ७ गते २०८३ मा प्रकाशित


काठमाडौं । श्रीलङ्काको राजधानी कोलम्बोमा आयोजित अन्तर्राष्ट्रिय ग्लोबल एक्सन टिम (GAT) सम्मेलनमा सहभागी भई स्वदेश फर्किएको लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालको प्रतिनिधिमण्डललाई भव्य स्वागत गरिएको छ।

जुन १८ देखि २० तारिखसम्म सञ्चालन भएको उक्त सम्मेलनमा सहभागी भएर फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष कार्यक्रमका बीच स्वागत गरिएको हो। प्रतिनिधिमण्डलको नेतृत्व लायन वर्ष २०२६/२७ का डिष्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारीले गरेका थिए। टोलीमा पाष्ट इन्टरनेसनल डाइरेक्टर लायन बालकृष्ण बुर्लाकोटीसहित अन्य पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो।

सम्मेलनमा डिष्ट्रिक्ट ३२५ के नेपालका तर्फबाट डिष्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारी, जीईटी (GET) कोअर्डिनेटर लायन निरज श्रेष्ठ, जीएमटी (GMT) कोअर्डिनेटर लायन निर्मल महर्जन तथा एलसीआईएफ (LCIF) डिष्ट्रिक्ट कोअर्डिनेटर लायन निरोज पाण्डेले सहभागिता जनाएका थिए। उनीहरूले नेतृत्व विकास, सदस्यता अभिवृद्धि, सेवा कार्यक्रम विस्तार तथा अन्तर्राष्ट्रिय समन्वयका विषयमा अनुभव आदानप्रदान गरेका थिए।

स्वदेश आगमनपछि विमानस्थलमा आयोजित स्वागत कार्यक्रममा फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर लायन विष्णुहरी फुँयाल, सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर लायन हसनकुमार गोपाली, क्याबिनेट सेक्रेटरी लायन गणेश जिसी, डिष्ट्रिक्ट ट्रेजरर लायन चुडामणि सिलवाल, डिष्ट्रिक्ट चिफ मिशन १.५ लायन महाप्रसाद पाण्डेलगायत क्याबिनेट पदाधिकारी, डिष्ट्रिक्ट अफिसर्स तथा विभिन्न लायन्स क्लबका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सम्मेलनमा सहभागी भएर फर्किएको नेपाली टोलीले प्राप्त अनुभव र सिकाइलाई आगामी लायन वर्ष २०२६/२७ को कार्यकालमा कार्यान्वयन गर्दै डिष्ट्रिक्टलाई अझ सशक्त, प्रभावकारी र गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरेको क्याबिनेट सेक्रेटरी लायन गणेश जिसीले जानकारी दिए।