
पोखरा । कीर्तिबल्लभ त्रिपाठीको नेतृत्वमा जनज्योति भूपू विद्यार्थी मञ्चको नयाँ कार्यसमिति चयन भएको छ। पोखरा–२८, कालिकास्थित जनज्योति माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूको प्रथम साधारणसभा तथा प्रथम अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा श्यामप्रसाद तिमिल्सेना, सचिवमा गुरुप्रसाद त्रिपाठी र कोषाध्यक्षमा श्रीकान्त अधिकारी चयन भएका छन्। सदस्यहरूमा चन्द्रा शर्मा, नारायणप्रसाद त्रिपाठी, लीलामोहन कुँइकेल, प्रविण नेपाली, किरणराज तिमिल्सेना, सागर अधिकारी र रचना भुजेल रहेका छन्।
नवनिर्वाचित अध्यक्ष कीर्तिबल्लभ त्रिपाठीले संस्थाको उद्देश्यअनुसार सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले सम्पूर्ण भूपू विद्यार्थीलाई एकताबद्ध गर्दै मञ्चलाई थप सक्रिय र प्रभावकारी बनाउने तथा आफ्नो योग्यता र अनुभवको प्रयोग गरी विद्यालय र पूर्वविद्यार्थीबीचको सम्बन्ध अझ सुदृढ बनाउन निरन्तर क्रियाशील रहने बताए।
अधिवेशनको पहिलो सत्र मञ्चका संयोजक कीर्तिबल्लभ त्रिपाठीको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न वर्षका पूर्वविद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। लामो समयपछि एकै स्थानमा भेला भएका साथीभाइबीच अनुभव आदान–प्रदान तथा पुराना सम्झनाको पुनः स्मरणले कार्यक्रमलाई उत्साहपूर्ण बनाएको थियो।
कार्यक्रमका प्रमुख अतिथि विद्यालयका पूर्व प्रधानाध्यापक पुष्पराज पौडेलले विद्यालयको शैक्षिक, भौतिक तथा सामाजिक विकासमा भूपू विद्यार्थीहरूको भूमिका महत्वपूर्ण रहने बताए। उनले आपसी एकता, भाइचारा र सहकार्यलाई निरन्तरता दिन आग्रह गर्दै जनज्योति माविमा बिताएका दिनहरू आफ्नो जीवनका स्वर्णिम क्षण रहेको स्मरण गरे।
कार्यक्रममा पोखरा महानगरपालिकाका निवर्तमान प्रमुख मानबहादुर जिसीले माछापुच्छ्रे हिमालको काखमा अवस्थित जनज्योति माध्यमिक विद्यालय प्राकृतिक सौन्दर्यसँगै शैक्षिक गरिमाका कारण कास्की जिल्लाकै विशिष्ट विद्यालयका रूपमा परिचित रहेको बताए। ग्रामीण क्षेत्रमा स्थापना भए पनि विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याएको उनको भनाइ थियो।
त्यसैगरी, युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले विद्यालय र पूर्वविद्यार्थीबीचको सम्बन्धलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा मञ्चका सल्लाहकार हरिप्रसाद त्रिपाठी, विद्यालयका जग्गादाता तथा व्यवस्थापन समितिका पूर्व अध्यक्ष चन्द्रबहादुर पौडेल, पूर्व प्रधानाध्यापक माधवप्रसाद पौडेल, पोखरा–२८ की वडा सदस्य डाल्डादेवी भुजेल, जग्गादाताका तर्फबाट सुरेन्द्र अधिकारी तथा विद्यालयका प्रधानाध्यापक उत्तमकुमार श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
सो अवसरमा मञ्चका विभिन्न गतिविधिमा सहयोग पुर्याउने सहयोगदाता तथा विद्यालयका जग्गादाताहरूलाई सम्मानसमेत गरिएको थियो।कीर्तिबल्लभ त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव गुरुप्रसाद त्रिपाठीले गरेका थिए भने स्वागत मन्तव्य सह–संयोजक श्यामप्रसाद तिमिल्सेनाले राखेका थिए।
जनज्योति भूपू विद्यार्थी मञ्चले २०८२ पुस १० गते वैधानिक रूपमा दर्ता भई कानुनी मान्यता प्राप्त गरेको हो। वि.सं. २०१६ सालमा स्थापना भएको जनज्योति माध्यमिक विद्यालय २०२६ सालदेखि एसएलसी परीक्षामा सहभागी हुँदै आएको छ।
माछापुच्छ्रे हिमालको सम्मुखमा अवस्थित यो विद्यालय प्राकृतिक सौन्दर्यसँगै शैक्षिक उत्कृष्टताका कारण कास्की जिल्लाको प्रतिष्ठित शैक्षिक संस्थामध्ये एक मानिन्छ। ग्रामीण परिवेशमा स्थापना भएर पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विद्यालयले समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याएको छ।
अनुशासन, मेहनत र सामाजिक मूल्यमा आधारित शिक्षाले यहाँका विद्यार्थीलाई सक्षम, जिम्मेवार र समाजप्रति उत्तरदायी नागरिक बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।













